कार्तिक १४, काठमाडौं ।।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शुक्रबार(आज) त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उनले रंगशालाको संरचना, खेल मैदान र प्राविधिक सुविधा सम्बन्धी पक्षहरूबारे विस्तृत जानकारी लिएका छन्।
यसै क्रममा नवनियुक्त मन्त्री गुप्तालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले रंगशालाको हालको अवस्था, मर्मत–सम्भारका आवश्यकता र आगामी योजनाबारे जानकारी गराएका थिए।
त्यस्तै मन्त्री गुप्ताले दशरथ रंगशाला देशको प्रमुख खेलकुदको प्रतीक भएको उल्लेख गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदानका रूपमा उत्कृष्ट बनाउन सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उक्त निरीक्षण टोलीमा राखेपका पदाधिकारी, इन्जिनियर तथा प्राविधिक कर्मचारीहरू पनि सहभागी थिए।













