अमेरिकाविरुद्ध नेपालले आज पुनः सामना गर्दै, खेल बिहान सवा ११ बजे हुने
  • प्रमुख खबर

कार्तिक १५, काठमाडौं ।।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले शनिबार(आज) अमेरिकासंग पुनः सामना गर्दैछ।

खेल आज दुबईमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। यूएईमा जारी यो सिरिजमा नेपाल, अमेरिका र घरेलु टोली यूएईबीच प्रतिस्पर्धा भइरहेको छ।

अघिल्लो खेलमा नेपालले अमेरिकासँग १ सय ६ रनको फराकिलो हार बेहोरेको थियो। त्यसपछि बिहीबार भएको दोस्रो खेलमा पनि नेपाल यूएईसँग ५ विकेटले पराजित भएको थियो ।

लगातारको दुई खेलमा हार बेहोरेको नेपालको लागि आजको खेललाई आत्मविश्वास फर्काउने अवसरका रूपमा हेरिएको छ।

नेपालले यस सिरिजको अन्तिम खेल बुधबार यूएईविरुद्ध खेल्नेछ । लिग–२ को अंक तालिकामा नेपालले अहिलेसम्म १८ खेलमा १२ अंक मात्र जोड्न सकेको छ र सातौं स्थानमा छ।

शीर्ष स्थानमा रहेको अमेरिका २२ खेलमा ३२ अंकसहित अघि छ भने यूएई १८ खेलमा ८ अंकसहित अन्तिममा छ।

आजको खेलमा नेपालले ब्याटिङ र फिल्डिङ दुवैमा सुधार गर्दै हारको शृंखला तोड्ने लक्ष्य लिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्