कार्तिक १७, काठमाडौं ।।
अफगानिस्तानको उत्तरी क्षेत्र मजार–ए–शरिफ नजिक गएराति शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड मापन गरिएको हो।
भूकम्पको केन्द्र मजार–ए–शरिफबाट करिब ३० किलोमिटर टाढा खोल्मा क्षेत्रमा रहेको बताइएको छ। कतारी सञ्चार माध्यम अलजजिराका अनुसार स्थानीय समय अनुसार राति १२ बजेर ५९ मिनेटमा गएको भूकम्प करिब २८ किलोमिटर गहिराइमा केन्द्रित थियो।
स्थानीय अधिकारीहरूले आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै सतर्क रहन आग्रह गरेका छन्। तर अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त नभएको अलजजिराले जनाएको छ ।
भूकम्पको झट्का महसुस भएपछि मजार–ए–शरिफका बासिन्दा मध्यरातमै घर छोडी सडकमा निस्किएका थिए ।
तालिबान शासनमा फर्किएपछि अफगानिस्तानले बारम्बार ठूला भूकम्पहरूको सामना गर्नुपरेको छ। यसै वर्ष अगस्ट ३१ मा पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २ हजार २ सयभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
भौगोलिक रूपमा अफगानिस्तान हिन्दु कुश पर्वतशृंखला आसपास पर्ने भएकाले यहाँ युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरूको ठोक्किने प्रक्रिया निरन्तर भइरहन्छ।
यही कारण सन् १९०० यता देशको उत्तरपूर्वी क्षेत्रमा ७ म्याग्निच्युडभन्दा माथिका १२ भन्दा बढी शक्तिशाली भूकम्प गइसकेका छन्।













