कर्णालीको माटोमा देशभरिका खेलाडीहरू भिड्ने, फागुन १ देखि दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता
  • प्रमुख खबर

कार्तिक २०, काठमाडौं ।।
कर्णाली प्रदेश यसपटक देशकै खेल उत्सवको केन्द्र बन्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को १२३ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ फागुनको पहिलो साता गर्ने निर्णय गरेसँगै कर्णाली खेल उत्सवको केन्द्र बन्ने भएको हो ।

राखेपको इतिहासमा नै पहिलो पटक प्रत्यक्ष प्रसारित बोर्ड बैठकले सो निर्णय बुधबार गरेको थियो।

तीन पटक सम्म यस प्रतियोगिताका लागि मिति तय हुँदै सरेकोमा यो पटक फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता हुँदैछ।

बैठकको अध्यक्षता युवा तथा खेलकुद मन्त्री तथा राखेप अध्यक्ष बब्लु गुप्ताले गरेका थिए ।

उनले खेलकुदको माध्यमबाट देशभरिकै एकता, उत्साह र प्रतिभा उजागर गर्ने उद्देश्यका साथ तय गरिएको यो निर्णयले कर्णालीलाई ऐतिहासिक अवसर दिलाउने विश्वास राखिएको छ ।

यस्तै बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्न मन्त्रिपरिषदमा सिफारिस गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई ३ महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय समेत गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्