ए डिभिजन लिग तुरुन्त सञ्चालन गर्नुपर्ने मागसहित एन्फा विरुद्ध फुटबल खेलाडीको प्रदर्शन
  • प्रमुख खबर

Oplus_131072

कार्तिक २०, काठमाडौं ।।
शहीद स्मारक ‘ए’ डिभिजन लिग तत्काल सञ्चालन गर्नुपर्ने मागसहित नेपाली फुटबल खेलाडीहरू प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरूले बिहीबार(आज) अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि प्रदर्शन र धर्ना दिएका हुन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स अगाडि खेलाडीहरूले करिब एक घण्टा धर्ना दिँदै फुटबलमा देखिएको अस्थव्यस्थ, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध आवाज उठाएका हुन्।

प्रदर्शनमा सहभागी खेलाडीहरूले आफ्ना पदक र ट्रफीहरू एन्फाको गेटमै झुण्ड्याउँदै असन्तुष्टि जनाएका छन्।

प्रदर्शनका क्रममा उनीहरुले ‘नो गेम, नो फेम : एन्फाज टु ब्लेम’, ‘घरेलु लिग चलाऊ, फुटबल बचाऊ’, ‘फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो’ जस्ता प्लेकार्ड बोकेर एन्फाको भूमिकामाथि प्रश्न उठाए।

विषेशगरी खेलाडीहरूले लामो समयदेखि लिग नहुँदा खेलजीवन प्रभावित भएको र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबल पछाडि धकेलिएको गुनासो गरे।

एन्फाको कमजोरीको कारण पछिल्लो समय कुनैपनि ए डिभिजनको लिग हुन सकेको छैन । विश्वकप समेत हरेक चार वर्षमा आयोजना हुन्छ तर एन्फाभित्रको द्वन्द्वका कारण ए डिभिजन लिग कहिले हुन्छ भन्ने अन्योलता अहिले नेपाली फुटबलको वास्तविकता बनिसकेको छ।

एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले फुटबल क्षेत्र लामो समयदेखि जकडिएको छ।

हालै धुलिखेलमा सम्पन्न एन्फाको साधारणसभामा समेत क्लबहरूले अध्यक्ष पङ्कज विक्रम नेम्वाङमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए।

एन्फाले आर्थिक वर्ष २०८२ मा फुटबलका विभिन्न गतिविधिका लागि एक अर्ब ५६ करोड रुपैयाँ खर्च गरेको दाबी गरे पनि उक्त रकमको विस्तृत विवरण सार्वजनिक नगरेको भन्दै खेल क्लबहरू र खेलाडीहरूले प्रश्न उठाएका छन्।

यससँगै खेलाडीहरूको तलब र सुविधा सम्बन्धी विवाद अझै समाधान भएको छैन। गएको सिजनमा धेरै क्लबहरूले खेलाडीहरूलाई समयमा पारिश्रमिक नदिएको गुनासो पनि उठेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्