कार्तिक २१, काठमाडौं ।।
सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकप भारत र श्रीलङ्काको संयुक्त आयोजनामा हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रतियोगिताका लागि भारतका पाँच र श्रीलङ्काका दुई खेलमैदानलाई प्राथमिक सूचीमा समावेश गरेको छ।
आईसीसीले सार्वजनिक गरेको विवरण अनुसार भारतका अहमदाबाद, दिल्ली, कोलकाता, चेन्नई र मुम्बई तथा श्रीलङ्काको कोलम्बो र क्यान्डीमा खेल सञ्चालन हुने तय गरिएको हो।
विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुनेछ। फाइनल खेल भारतको विशाल नरेन्द्र मोदी रङ्गशालामा हुने योजना छ।
तर, पाकिस्तान फाइनलमा पुगेमा उक्त निर्णायक खेल श्रीलङ्कामा सारिने बताइएको छ ।
विषेशगरी भारत र पाकिस्तानबीचको समझदारी अनुसार दुवै देश एकअर्काको भूमिमा प्रत्यक्ष खेल्दैनन्। यस संस्करणमा कुल २० टोलीले सहभागिता जनाउनेछन्।
एसियाली क्षेत्रबाट नेपाल, ओमान र युएईले छनोट प्राप्त गरेका छन्। यससँगै नेपालले दोश्रो पटक टी–२० विश्वकपमा सहभागी हुने ऐतिहासिक अवसर पाउने भएको छ।













