तेस्रो इन्डुरो प्रतियोगिता: ८ देशका ५० खेलाडीहरुको सहभागिता रहने
  • प्रमुख खबर

कार्तिक २६, पोखरा ।।
तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको तयारी पूरा भएको छ ।

माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यही कार्तिक २७ देखी २९ गतेसम्म हुने यस प्रतियोगिताको तयारी पूरा भएको हो ।

प्रतियोगिता समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको पोखरा -१३, आर्वा–बिजय डाँडामा हुनेछ ।

विषेशगरी जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ५० खेलाडीहरुले यस प्रतियोगितामा सहभागीता जनाउने यसका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार १३ बढी देशले दर्ता गरेपनि नेपालमा भएको जेन्जी आन्दोलनले परेको नकारात्मक असरका कारण अरु देशले दर्ता रद्द गरेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथिका), इलिट (२९ वर्ष माथिका), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताका आयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र ०८१ सालमा गरी दुई प्रतियोगिता सम्पन्न भइसकेको छ ।

आयोजकको अपेक्षा अनुसार यो प्रतियोगिताले विश्वभरका माउन्टेन बाइक प्रेमीलाई आकर्षित गर्दै नेपालको खेलकुद र पर्यटन प्रवर्द्धनमा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्