मैत्रीपूर्ण तर निर्णायक : हरि खड्काको नेतृत्वमा नेपाल आज बङ्गलादेशसँग भिड्दै
  • प्रमुख खबर

Oplus_131072

कार्तिक २७, काठमाडौं ।।
नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार(आज) बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बङ्गलादेशको राजधानी ढाकास्थित नेशनल स्टेडियममा बेलुकी पौने ८ बजे सुरू हुनेछ ।

यो खेल नेपाली प्रशिक्षक हरि खड्काका लागि विशेष महत्त्वको मानिएको छ ।

म्याट रसको राजीनामापछि मुख्य प्रशिक्षक बनेका खड्काको यो पहिलो अन्तर्राष्ट्रिय नेतृत्व हो । यस कारण पनि आजको खेल केवल मैत्रीपूर्ण मात्र नभई उनको क्षमताको प्रारम्भिक परीक्षण पनि हो ।

नेपाल र बङ्गलादेशबीचको प्रतिद्वन्द्विता पछिल्ला वर्षहरूमा सधैं प्रतिस्पर्धात्मक रहँदै आएको छ । गएको भदौमा काठमाडौंमा भएको मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको थियो भने दोस्रो खेल जेनजी आन्दोलनका कारण रद्द भएको थियो ।

फिफा वरीयतामा नेपाल हाल १ सय ८०औं स्थानमा छ त्यस्तै बङ्गलादेश १ सय ८३औं स्थानमा रहेको छ । अंकतालिकामा नेपाल अगाडि भए पनि पछिल्ला प्रदर्शनले चिन्ता जगाएको छ ।

अन्तिम ६ खेलमध्ये चारमा नेपाल पराजित भएको छ भने दुई खेल बराबरीमा टुंगिएका छन् । आजको खेलले नेपाली टोलीको आत्मविश्वास पुनः स्थापित गर्ने अवसर दिनेछ ।

नयाँ प्रशिक्षक, नयाँ योजना र पुरानो प्रतिस्पर्धीबीच ढाकाको मैदानमा आज हुने खेलमा नेपालले केवल खेल मात्र होइन, गौरव फर्काउने प्रयास पनि गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्