मंसिर ८, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार (आज)पनि दुई आकर्षक खेलहरू हुँदैछन्।
पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र उत्कृष्ट फर्ममा रहेको विराटनगर किंग्स आमनेसामने हुनेछन्।
दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ। पहिलोपटक एक–आपसमा भिड्न लागिरहेका यी चार टोलीमध्ये जनकपुरका लागि आजको खेल विशेष हुने देखिएको छ।
लिगको उद्घाटन खेलमा काठमाडौं गोर्खाजसँग हार व्यहोरेको जनकपुर आज पहिलो जितको खोजीमा मैदानमा उत्रिँदैछ ।
यता विराटनगर भने उच्च आत्मविश्वासका साथ खेल्दै छ। उसले यसअघि पोखरा र काठमाडौंलाई पराजित गर्दै लगातार जितको दौडमा अघि बढेको छ।
त्यस्तै दोस्रो खेलमा भने कर्णाली र सुदूरपश्चिमबीच प्रतिष्ठाको टक्कर हुने देखिएको छ। कर्णालीले खेलेका दुई खेलमध्ये एकमा जित निकालिसकेको छ भने सुदूरपश्चिम लगातार तेस्रो जितको लक्ष्यमा मैदान उत्रिँदैछ।
सुदूरपश्चिमले यसअघि काठमाडौं र पोखरालाई हराइसकेको छ भने कर्णालीले लुम्बिनी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको थियो।









