मंसिर १९, काठमाडौं ।।
“स्वस्थ माटोका लागि स्वस्थ शहर” भन्ने मूल नाराका साथ आज विश्व माटो दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ।
माटोको संरक्षण, दिगो उपयोग र उत्पादनशीलता बढाउने उद्देश्यका साथ हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाउने परम्परा रहँदै आएको छ।
संयुक्त राष्ट्रसंघको ६८औँ महासभाले सन् २०१३ मा गरेको निर्णय र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सिफारिस अनुसार डिसेम्बर ५ लाई विश्व माटो दिवस घोषणा गरिएको हो।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा भने सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट पहिलोपटक औपचारिक रूपमा माटो परीक्षण सेवा सुरू गर्दै यो दिवस मनाउन थालिएको थियो।
कृषि विभागले गरेको दीर्घकालीन माटो परीक्षणका आधारमा नेपालका माटोको अवस्था मिश्रित देखिएको छ।
विभागका अनुसार परीक्षण गरिएका कुल माटोमध्ये करिब ५४ प्रतिशत अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत मात्र क्षारीय प्रकृतिका छन्।
विशेषगरी पूर्वी नेपालका माटो पश्चिमी क्षेत्रको तुलनामा बढी अम्लीय पाइएका छन्, जसले बाली उत्पादनमा नकारात्मक प्रभाव पार्ने गरेको छ।
देशभर परीक्षण गरिएका माटोमध्ये ३७ प्रतिशतमा कम, ४५ प्रतिशतमा मध्यम र केवल १८ प्रतिशतमा मात्र उच्च स्तरको प्राङ्गारिक पदार्थ पाइएको छ।
तराई क्षेत्रका माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थ झनै कम रहेको विभागले जनाएको छ। यसले दीर्घकालीन कृषि उत्पादनमा चुनौती थपेको छ।
पोषकतत्वका दृष्टिले हेर्दा नेपालका धेरै क्षेत्रमा माटो असन्तुलित अवस्थामा रहेको पाइएको छ। देशभर २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा उच्च मात्रामा पाइन्छ।
फस्फोरस र पोटासको अवस्था पनि धेरै स्थानमा असन्तुलित देखिएको विभागले जनाएको छ। सूक्ष्म पोषकतत्वतर्फ हेर्दा जिङ्क, बोरोन र मोलिब्डेनमको मात्रा सामान्यतया कम पाइएका छन्।
त्यसमध्ये पनि बोरोन पूर्वी नेपालका धेरै जिल्लामा निकै न्यून रहेको पाइएको छ, जसले बालीको वृद्धि र उत्पादनमा प्रत्यक्ष असर पार्ने गर्छ।
कृषि विभागका अनुसार विश्व माटो दिवस मनाउनुको मुख्य उद्देश्य दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वराशक्ति जोगाउँदै भावी पुस्ताका लागि स्वस्थ माटो सुरक्षित गर्नु हो।
असन्तुलित मल प्रयोग, अत्यधिक रासायनिक मलको प्रयोग, वन विनाश, अनियन्त्रित भूक्षय र अव्यवस्थित शहरीकरणले माटोको प्राकृतिक गुणस्तरमा गम्भीर असर पारिरहेको छ।
विभागले माटो परीक्षणको आधारमा मात्रै मल प्रयोग गर्न, प्राङ्गारिक मलको प्रयोग बढाउन, भू-क्षय नियन्त्रण गर्न र दिगो कृषि प्रणाली अपनाउनुपर्ने बताएको छ।
यस्तै यस दिवसको अवसरमा कृषि मन्त्रालय, कृषि विभाग, विभिन्न अनुसन्धान संस्थान, स्थानीय तह र गैरसरकारी संस्थाहरूले सचेतनामूलक कार्यक्रम, गोष्ठी, माटो परीक्षण शिविर तथा किसान अभिमुखीकरण कार्यक्रम आयोजना गरेका छन्।
यी कार्यक्रममार्फत किसानलाई माटोको महत्व, त्यसको संरक्षण र वैज्ञानिक खेती प्रणालीबारे जानकारी दिने उद्देश्य राखिएको छ।












