मंसिर १९, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबार(आज)लिग चरणको अत्यन्तै महत्वपूर्ण तथा निर्णायक खेल हुँदैछ ।
आज हुने यस खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ४ बजे सुरु हुनेछ।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले अहिलेसम्म खेलेका ६ खेलमध्ये ३ खेलमा मात्र जित हात पारेको छ। ६ अंकसहित अंक तालिकामा प्लेअफको नजिक पुगेको लुम्बिनीलाई आजको खेल जित्नै पर्ने दबाब छ।
आजको खेल जितेको खण्डमा लुम्बिनीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ, जसले टोलीका खेलाडी र समर्थकमाझ थप उत्साह थपेको छ।
यस्तै अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स यस संस्करणमा भने निकै संघर्षपूर्ण अवस्थामा देखिएको छ।
कप्तान अनिल साह नेतृत्वको जनकपुरले अहिलेसम्म खेलेका ५ खेलमध्ये केवल १ खेल मात्र जितेको छ। २ अंकसहित अंक तालिकाको पुछारमा रहेको जनकपुरका लागि आजको खेल निकै चूनौतीपूर्ण हुने देखिएको छ।
जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ। यदि आज जनकपुरले लुम्बिनीलाई पराजित गर्न सकेमा प्लेअफको सम्भावना अझै जिवित रहनेछ । यसका लागि उसले खेलका अन्य खेलका नतिजाहरू पनि अनुकूल हुनुपर्नेछ।
आज हार बेहोरेमा जनकपुरको प्लेअफ यात्रा लगभग समाप्त हुने निश्चित जस्तै हुनेछ।
विषेशगरी आजको खेलमा लुम्बिनी जित निकालेर प्लेअफ सुरक्षित गर्ने लक्ष्यमा हुनेछ भने जनकपुर आफ्नो प्रतिष्ठा र आशा जोगाउन मैदानमा उत्रनेछ।













