एनपीएलमा आज प्रतिष्ठाको लडाइँ: जनकपुर र कर्णालीको अन्तिम भिडन्त
  • प्रमुख खबर

Oplus_131072

मंसिर २१, काठमाडौं ।।
नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटको दोस्रो संस्करण अन्तर्गत लिग चरणको अन्तिम खेलमा आइतबार(आज) पनि प्रतिष्ठाको लडाइँ हुँदैछ।

आज दिउँसो साढे ३ बजे शुरू हुने खेलमा अंक तालिकाको पुछारमा रहेका दुई टोली—जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

यी दुवै टोली प्ले-अफको दौडबाट बहिरिसकेका छन् तर आज हुने खेल उपाधि यात्राभन्दा पनि प्रतिष्ठाको लडाइँ बन्नेछ।

६–६ खेल खेल्दा दुवै टोलीले मात्र एक–एक जित हात पारेका छन्। कर्णाली याक्स २ अंकसहित तालिकाको सातौं स्थानमा रहँदा साविक विजेता जनकपुर बोल्ट्स अझै कमजोर प्रदर्शनसहित तालिकाको अन्तिम स्थानमा सीमित बनेको छ।

गत संस्करणको च्याम्पियन जनकपुरको यस्तो प्रदर्शनले समर्थकहरूलाई निराश बनाएको छ भने युवा खेलाडीले भरिएको कर्णाली टोलीले अपेक्षित लय समात्न सकेन।

एनपिएल अन्तर्गतको लिग चरणका सबै समीकरण पूरा भइसकेका छन्। अब उपाधिका लागि चार टोली मैदानमा उत्रनेछन्।

क्वालिफायर खेलमा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।

इलिमिनेटर खेलमा तेस्रो स्थानको काठमाडौं गोर्खाज र चौथौ स्थानको लुम्बिनी लायन्सबीच निर्णायक भिडन्त हुनेछ।

क्वालिफायर जित्ने टोली सीधै फाइनल पुग्नेछ भने हार्ने टोलीलाई दोस्रो अवसर मिल्नेछ।

गत मंसिर १ गतेबाट शुरू भएको एनपीएलको दोस्रो संस्करण अब समापनको संघारमा पुगेको छ। मंसिर २७ गते हुने फाइनल खेलसँगै यस संस्करणको च्याम्पियनको टुंगो लाग्नेछ । प्रतियोगितामा देशभरका आठ टोली सहभागी छन्।

यस्तै आज जनकपुर र कर्णालीबीचको खेलले अंक तालिकामा ठूलो प्रभाव नपार्ने भएपनि खेलाडीका लागि आत्मविश्वास, समर्थकका लागि गर्व र टोलीका लागि भविष्यको तयारीको आधार बन्नेछ। दुवै टोली आज सकारात्मक अन्त्य खोज्दै मैदानमा उत्रनेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्