नागढुङ्गा–पोखरेभिर सडक दैनिक पाँच घण्टा बन्द, यात्रुहरूलाई वैकल्पिक बाटोको आग्रह
  • प्रमुख खबर

मंसिर २२, काठमाडौं ।।
मलेखु सडकखण्ड अन्तर्गत नागढुङ्गादेखि पोखरेभिर सम्मको सडक क्षेत्रमा मंसिर २४ गते बुधबार गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवागमन आंशिक रूपमा बन्द हुने भएको छ।

सडक कालोपत्र तथा स्तरोन्नतिको कार्यलाई तीव्रता दिन उक्त सडक खण्ड आंशिक रूपमा बन्द हुने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा धादिङले संयुक्त रूपमा जारी गरेको सूचना अनुसार बिहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

विशेष गरी नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्र यस बन्दको प्रत्यक्ष असरमा पर्नेछन्।

आयोजनाले सो समय अवधिमा यात्रु तथा सवारी चालकहरूलाई यात्राको समय अगाडि वा पछाडि मिलाउन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

सो सूचनामा साना तथा मझौला सवारी साधनहरूका लागि अत्यावश्यक अवस्थामा निम्न वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जानकारी दिइएको छ ।

जसअन्तर्गत सीतापाईला – भिमढुङ्गा – रामकोट – धार्के, सामाखुसी – टोखा – छहरे – त्रिशूली – गल्छी हुँदै जरेखेतबाट त्रिशूली पुल तरेर घाटबेसी पुल निस्कने मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

तर बस, ट्रक, ट्यांकर जस्ता ठूला मालवाहक सवारीहरूलाई भने बन्दको समयमा सञ्चालन गर्न रोक लगाइने सूचनामा जनाइएको छ।

उक्त सूचन अनुसार एम्बुलेन्स, शव वाहन, सुरक्षा निकायका गाडी, दमकललगायत अत्यावश्यक सेवाका सवारी साधनहरू भने ट्राफिक प्रहरीको सहजीकरणमा सञ्चालन गर्न दिइनेछ।

विषेशगरी कुनै आकस्मिक परिस्थितिमा यात्रुलाई असहज नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडकखण्डको कालोपत्र तथा स्तरोन्नति अन्तिम चरणमा पुगेको छ।

काठमाडौं जिल्ला भित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्ड अत्यन्त साँघुरो भएकाले भारी उपकरण र निर्माण सामग्री एकै पटक ल्याएर काम गर्न सक्नुपर्ने अवस्था छ।

यस क्षेत्रको सडक संरचना पुरानो र साँघुरो भएकाले लामो समयसम्म एकतर्फी मात्र सवारी सञ्चालन गरेर काम गर्दा दुर्घटनाको जोखिम बढ्ने आयोजनाको ठहर छ। त्यसैले दिनको केही घण्टा पूर्ण रूपमा बन्द गरेर गुणस्तरीय कालोपत्र गर्ने योजना बनाइएको हो।

आयोजनाका अनुसार धादिङ जिल्लाको गल्छी–गजुरी क्षेत्र पनि अत्यन्त साँघुरो र जोखिमयुक्त मानिन्छ।

विशेष गरी पोखरेभिर क्षेत्र पहिरो सम्भावना उच्च हुने र सडक अत्यन्त सकसपूर्ण भएकाले यहाँ सडक चौडाइ बढाउनुपर्ने आवश्यकता देखिएको छ।

यसका लागि भारी मेसिन, ढुवानीका साधन र श्रमिक परिचालन गर्नुपर्ने भएकाले आंशिक बन्द नगरी काम अघि बढाउन असम्भव भएको आयोजनाको भनाइ छ।

सडक आयोजनाले यो आंशिक बन्द यात्रुहरूको सुरक्षालाई केन्द्रमा राखेर गरिएको स्पष्ट पारेको छ।

स्तरोन्नतिको काम सकेपछि काठमाडौँ–मुग्लिन सडकखण्डमा यात्रा थप सुरक्षित, सहज र यसले समय बचत हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्