शहरदेखि गाउँसम्म एनपीएलको रौनक, आजबाट सुरु भयो निर्णायक संघर्ष
  • प्रमुख खबर

Oplus_131072

मंसिर २३, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण अन्तर्गत पलेअफका निर्णायक खेलहरु सोमबार (आज) बाट सुरु हुँदैछ ।

मंसिर १ गतेदेखि सुरु भएको लिग चरणको प्रतिस्पर्धापछि आजदेखि प्लेअफका निर्णायक खेलहरू शुरू हुने भएको हो ।

आज दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर खेलिँदैछ।

अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम यसपटक पनि उत्कृष्ट लयमा देखिएको छ। पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

यस्तै भोलि हुने इलिमिनेटर खेलमा काठमाडौं र लुम्बिनी आमनेसामने हुनेछन्। इलिमिनेटर जित्ने टोलीले फाइनल पुग्ने झिनो आशा जोगाउँदै दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित टोलीको यात्रा त्यहीं समाप्त हुनेछ।

दोस्रो क्वालिफायर आउँदो बिहीबार र फाइनल खेल आउँदो शनिबार हुने कार्यतालिका छ। लिग चरण सकिँदा ब्याटिङतर्फ विदेशी खेलाडीहरूको दबदबा देखिएको छ।

पोखरा एभेन्जर्सका एडम रोसिङ्टन एक शतक र दुई अर्धशतकसहित ३ सय २३ रन बनाएर शीर्ष स्थानमा छन्।

कर्णाली याक्सका मार्क वाट २ सय ४६ रनसहित दोस्रो र चितवन राइनोजका रवि बोपारा २ सय ३७ रनसहित तेस्रो स्थानमा छन् ।

नेपाली खेलाडीमध्ये लुम्बिनीका कप्तान रोहितकुमार पौडेल २ सय ८ रनसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिमका विनोद भण्डारी २ सय १ रनसहित उनलाई नजिकबाट पछ्याइरहेका छन्।

यता बलिङतर्फ भने नेपाली खेलाडीहरूको वर्चस्व कायम छ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १५ विकेटसहित शीर्ष स्थानमा छन्।

सुदूरपश्चिमका अविनाश बोहरा १४ विकेटसहित दोस्रो स्थानमा छन् भने काठमाडौंका शाहब आलम र कप्तान करण केसी दुवै १२–१२ विकेटसहित संयुक्त तेस्रो स्थानमा छन्।

सुदूरपश्चिम रोयल्सले लिग चरणमा एक मात्र हार बेहोर्दै शानदार प्रदर्शन गर्न सफल भएको छ। अन्तिम खेलमा विराटनगरसँग पराजित भएपनि उसले लगातार शीर्ष स्थान जोगाउन सफल रह्यो।

विराटनगरले ५ खेल जित्दै बलियो दावेदारी प्रस्तुत गर्‍यो। यसपटक विराटनगरले आफ्नै नाममा रहेको १ सय ९३ रनको कीर्तिमान तोड्दै २ सय २० रन बनाएर एनपिएलमा नयाँ इतिहास रचेको छ।

काठमाडौंले ५ खेल जिते पनि शीर्ष दुई टोली सुदूरपश्चिम र विराटनगरसँग पराजित भएको थियो ।

यता लुम्बिनीले उतारचढावपूर्ण यात्रा गर्दै प्लेअफमा स्थान बनाउन सफल भएको छ। लगातार तीन हारपछि लगातार तीन जित निकाल्दै टोलीले खेलमा पुनरागमन गरेको हो।

यस टोलीले जनकपुर र विराटनगरजस्ता बलिया टोलीलाई हराउनु नै सबैभन्दा ठूलो उपलब्धि बनेको हो।

यस्तै पोखरा एभेन्जर्सले ३ जित र ४ हारको नतिजासहित प्लेअफको दौडबाट बाहिरिएको छ ।

जिम्मी नीशम र एडम रोसिङ्टनजस्ता स्टार खेलाडी हुँदाहुँदै पनि तालमेल नमिल्दा यो टोली खेलबाट बाहिरिएको हो ।

कर्णालीको भने २ जित र ५ हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको प्रदर्शन यसपटक अत्यन्त निराशाजनक रह्यो।

जनकपुरले एक मात्र खेल जित्दै अंकतालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

सुरुवातका चारै खेलमा पराजित भएको जनकपुरले चितवनविरुद्ध एकमात्र जीत  निकाल्यो। यस दोस्रो संस्करणको एनपीएलका कुल ३२ खेलमध्ये लिग चरणका १९ खेल फ्लडलाइटमा सम्पन्न भए। बाँकी चारै प्लेअफ खेल पनि फ्लडलाइटमै हुनेछन्।

पहिलो संस्करणको तुलनामा यसपटक धेरै विदेशी स्टार खेलाडीको सहभागिताले एनपीएलको आकर्षण झनै बढेको छ। शहरदेखि गाउँसम्म एनपीएलको रौनक छाएको छ।

सबैभन्दा रोचक आजको पहिलो क्वालिफायर खेल हुनेछ । सुदूरपश्चिमले फाइनलको यात्रा सुरक्षित गर्छ या विराटनगरले नयाँ इतिहासको अर्को अध्याय कोर्छ यो आजको खेलले तय गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्