मंसिर २७, काठमाडौं ।।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि शनिबार(आज)सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।
त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजेबाट शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिक पुगेको लुम्बिनीबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
आजको खेलसँगै एनपीएलले यस वर्षको नयाँ विजेता पाउने छ। फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स र राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
दुवै टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलन रहेकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
यता लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै उपाधि दौडमा आफूलाई मजबुत रूपमा प्रस्तुत गरेको थियो।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भए पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो।
गत वर्षको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक दोस्रो पटकको फाइनलमा उपाधि जित्ने दृढ लक्ष्यसहित मैदान उत्रनेछ।
यसै संस्करणको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो। तर अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक त्यो हार बिर्सेर इतिहास रच्ने योजनामा छ।
प्रतियोगिताको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ लाख रुपैयाँ हात पार्नेछ।
तेस्रो हुने टोलीलाई २५ लाख र चौथो हुने टोलीलाई १५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यसका साथै प्रतियोगिताको सर्वोत्कृष्ट एक जना नेपाली खेलाडीलाई पुरस्कार स्वरूप कार प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै सर्वोत्कृष्ट नेपाली खेलाडीको दौडमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी, कप्तान दीपेन्द्रसिंह ऐरी तथा लुम्बिनीका कप्तान रोहितकुमार पौडेल प्रमुख दाबेदार मानिएका छन्।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा यही मङ्सिर १ गतेदेखि शुरू भएको एनपीएलको दोस्रो संस्करणमा आठ टोलीको सहभागिता रहेको थियो।













