अमेरिकाले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्‍यो, ट्रम्प प्रशासनको कडा निर्णय
  • प्रमुख खबर

पुष ४, काठमाडौँ

अमेरिकाले डाइभरसिटी भिसा (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले बिहीबार साँझ ट्रम्प प्रशासनको निर्णयअनुसार डीभी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको घोषणा गरेकी हुन्।

ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का एक प्राध्यापकको हत्या गरेको आरोप लागेका व्यक्तिले आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका प्रवेश गरेको तथ्य सार्वजनिक भएपछि उक्त कदम चालिएको बताइएको छ। प्रहरीको खोजीमा रहेका ती व्यक्ति हाल मृत अवस्थामा फेला परेका छन्।

गृह सुरक्षामन्त्री नोएमले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेकी छन्, “यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो। राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार म तुरुन्तै यूएससीआईएसलाई डीभी–१ कार्यक्रम स्थगित गर्न निर्देशन दिँदै छु, ताकि यो विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस्।”

उनका अनुसार गोलीकाण्डका आरोपी क्लाउडियो म्यानुएल नेभ्स भालेन्टे सन् २०१७ मा डाइभरसिटी भिसा कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए र उनलाई ग्रीन कार्डसमेत जारी गरिएको थियो।

सन् १९९० को दशकमा सुरु भएको डाइभरसिटी भिसा कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकलाई वार्षिक ५० हजारसम्म भिसा प्रदान गर्दै आएको छ। ‘लट्री’ प्रक्रियाबाट छनोट हुने यस कार्यक्रममा हरेक वर्ष विश्वभरबाट करोडौँ व्यक्तिले आवेदन दिने गरेका छन्।

तर अमेरिकी संसद्ले कानुन बनाएर लागू गरेको यस कार्यक्रमलाई गृह सुरक्षामन्त्रीले कुन कानुनी आधारमा स्थगित गर्न सक्छिन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। लट्रीमार्फत जारी हुने अधिकांश भिसा अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले व्यवस्थापन गर्दै आएको छ भने अमेरिकाभित्रै रहेका सीमित आवेदकहरूको हकमा गृह सुरक्षा विभागअन्तर्गतको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस) ले प्रक्रिया गर्ने गर्दछ।

राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि डाइभरसिटी भिसा लट्री कार्यक्रमका आलोचक रहँदै आएका छन्। उनका अनुसार यो कार्यक्रम पर्याप्त योग्यता र सुरक्षा परीक्षणमा आधारित नभई सुरक्षा जोखिम निम्त्याउन सक्ने खालको छ। उनले आफ्नो पहिलो कार्यकालको सुरुआतमै यो कार्यक्रम समाप्त गर्ने प्रयाससमेत गरेका थिए।

स्रोत: अमेरिकी न्यूज एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस्