२१ औँ लेखनाथ महोत्सवमा जनसागर, एकै दिन ४० हजार दर्शक
  • प्रमुख खबर

पौष ५, पोखरा ।।
“महोत्सवको पनि महोत्सव” भनेर चिनिँदै आएको २१ औँ संस्करणको लेखनाथ महोत्सव तेस्रो दिन शनिबार (आज) पनि दर्शकको उल्लेख्य भीडका कारण निकै चहलपहलपूर्ण बनेको छ।

आज सार्वजनिक विदा परेकाले स्थानीयवासी, विभिन्न संघ–संस्था तथा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिले महोत्सव क्षेत्र भरिभराउ देखिएको थियो।

आयोजकका अनुसार आज एकै दिन करिब ४० हजार दर्शकले महोत्सव अवलोकन गरेका छन्।

प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा झण्डै एक लाख दर्शकले अवलोकन गरिसकेको र यस अवधिमा महोत्सवबाट करिब १ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ।

विशेषगरी बाल उद्यान दर्शकको प्रमुख आकर्षण बनेको छ। बाल उद्यान संयोजक भरत थापाका अनुसार बाल उद्यानतर्फ मात्र १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बालबालिकादेखि अभिभावकसम्मको भीडले बाल उद्यान क्षेत्रमा दिनभर रौनक छाएको छ।

महोत्सव स्थलमा दर्शकको अत्याधिक भीडका कारण महोत्सव गेटदेखि करिब ३ सय ३५ वटा स्टल पार गरेर कार्यक्रम स्थलसम्म पुग्न दर्शकलाई हम्मे–हम्मे परेको आयोजकले जनाएको छ।

व्यापारिक स्टल, स्थानीय उत्पादन, खानाका परिकार तथा मनोरञ्जनात्मक सामग्रीले दर्शकलाई आकर्षित गरेका थिए।

सांस्कृतिक कार्यक्रमतर्फ वडहरे गन्धर्व समाजको नृत्य प्रस्तुति विशेष आकर्षणको रूपमा रहेको बताइएको छ ।

त्यसैगरी विद्यालयस्तरीय कार्यक्रम अन्तर्गत आनन्द ज्योति माध्यमिक विद्यालय, गुरुकुल बोर्डिङ स्कुल तथा लक्ष्मी आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।

रत्यौलीतर्फ गायत्री आमा समूहले आफ्नै मौलिक प्रस्तुति राख्दै दर्शकको मन जितेका थिए।

कलात्मक प्रस्तुतितर्फ लोकदोहोरी गायनमा खुमन अधिकारी, निरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ, मधु थापा मगरलगायत कलाकारहरूको प्रस्तुति रहेको थियो।

त्यस्तै सुगम संगीततर्फ डान्सर शंकरको प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्‍यो।

आयोजकका अनुसार महोत्सव अवधिभर लोकदोहोरी, हास्यव्यङ्ग्य तथा विविध सांगीतिक कार्यक्रमहरू निरन्तर जारी रहने छन्।

महोत्सवले मनोरञ्जनसँगै स्थानीय व्यापार प्रवर्द्धन र सांस्कृतिक संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याइरहेको आयोजकले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्