लेखनाथ महोत्सवमा दैनिक करोडको कारोबार, दर्शक संख्या २ लाख ५० हजार नाघ्यो
  • प्रमुख खबर

पौष ११, पोखरा ।।
लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सव दर्शक सहभागिता, आर्थिक कारोबार र बहुआयामिक कार्यक्रमका कारण सफलतातर्फ तीव्र गतिमा उन्मुख हुँदै गएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन, लोकसंस्कृतिको संरक्षण र आर्थिक चलायमानता अभिवृद्धि गर्ने लक्ष्यसहित आयोजना गरिएको महोत्सवले अपेक्षाअनुसार सकारात्मक परिणाम दिन थालेको आयोजकले बताएका छन्।

महोत्सव सञ्चालनको नवौँ दिनसम्म आइपुग्दा आयोजकको लक्ष्यअनुसार दर्शकले अवलोकन गरिसकेका छन्।

विशेषगरी सार्वजनिक बिदाका दिनहरूमा मात्रै करिब ४० हजार दर्शक महोत्सवस्थल पुगेका थिए भने हालसम्म कुल दर्शक संख्या २ लाख ५० हजार नाघेको छ।

दर्शकको चापसँगै व्यापारिक गतिविधिमा पनि उल्लेख्य वृद्धि देखिएको छ, जसले आयोजक र व्यवसायी दुवैमा उत्साह थपेको छ।

आर्थिक कारोबारतर्फ दैनिक एक करोड रुपैयाँ हाराहारीमा कारोबार भइरहेको आयोजक समितिले जनाएको छ। केही दिनमै महोत्सवमार्फत करोडौँ रुपैयाँ बराबरको आर्थिक गतिविधि भइसकेको छ।

कृषि, जडीबुटी, स्थानीय खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, माछा तथा पशुपंक्षीसम्बन्धी स्टलहरूमा राम्रो कारोबार भइरहेको छ।

बाल उद्यान, खाना महोत्सव र कृषि प्रदर्शनी दर्शकका प्रमुख आकर्षण बनेका छन्। यस वर्ष महोत्सवलाई परम्परागत मनोरञ्जनमा मात्र सीमित नराखी कृषि बहस र उद्योग बहस जस्ता बौद्धिक कार्यक्रमसमेत समावेश गरिएको छ।

कृषि बहसमा माछापालन, अलैंची खेती र पोल्ट्री व्यवसायमा संलग्न कृषकहरूले आफ्ना अनुभव, सम्भावना र चुनौती प्रस्तुत गरेका थिए।

त्यस्तै उद्योग बहसमा विभिन्न उद्योगी व्यवसायीले संघर्षदेखि सफलतासम्मका कथा सुनाउँदै नीति निर्माता र सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका छन्।

यसले महोत्सवलाई ज्ञान, नीति बहस र अनुभव आदान–प्रदानको साझा मञ्चका रूपमा स्थापित गरेको छ।

सांस्कृतिक, साहित्यिक र शैक्षिक कार्यक्रमहरूले पनि महोत्सवको रौनक बढाएको छ। कवि शिरोमणि लेखनाथ पौड्यालको योगदानको स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिबार अभिनन्दन कार्यक्रम आयोजना गरिएको छ।

विद्यालयस्तरीय प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, सुगम संगीत तथा लाइभ कन्सर्टहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्, जसले सबै उमेर समूहका दर्शकलाई आकर्षित गरेको छ।

२०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको लेखनाथ महोत्सव आज कृषि, उद्योग, संस्कृति र साहित्यलाई जोड्ने बहुआयामिक महोत्सव का रूपमा विकसित भएको छ।

स्थानीय उत्पादनको बजारीकरण, साना तथा मझौला व्यवसायको प्रवर्द्धन र सांस्कृतिक पहिचान संरक्षणमा लेखनाथ महोत्सव प्रभावकारी माध्यम बनेको सरोकारवालाहरूको भनाइ छ।

महोत्सव अझै तीन दिन सञ्चालन हुने भएकाले दर्शक संख्या र आर्थिक कारोबार थप बढ्ने अपेक्षा गरिएको छ।

आयोजकले बाँकी दिनहरूमा पनि विविध कार्यक्रममार्फत महोत्सवलाई अझ आकर्षक बनाउने तयारी गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्