पौष १२, काठमाडौं ।।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बन्दै जाँदा समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा भोलि र पर्सिसम्म मात्र सीमित रहेको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिस्पर्धा गर्न दर्ता भएका सबै राजनीतिक दललाई कानुनअनुसार बन्दसूची तयार गरी तोकिएको समयभित्र बुझाउन पुनः स्मरण गराएको छ।
आयोगले जारी गरेको सूचनामा उम्मेदवार छनोट गर्दा विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गर्न आग्रह गरिएको छ।
यस्तै तयार पारिएको बन्दसूची केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको म्यादभित्रै पेश गर्नुपर्ने आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रक्रियालाई सहज बनाउन आयोगले आफ्नै केन्द्रीय कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र समयसीमाको पूर्ण पालना गर्न सबै सरोकारवाला पक्षलाई सचेत गराइएको छ।
तर बन्दसूची पेश गर्ने समय नजिकिँदै जाँदा पनि ठूला राजनीतिक दलहरू भने अझै चुनाव हुने–नहुने बहसमा अल्झिएका छन्।
प्रमुख दलहरूले नै चुनावी वातावरण नबनेको सार्वजनिक रूपमा बताउँदै आएपछि राजनीतिक अन्योल थप चुलिएको छ।
यही अन्योलतालाई चिर्न प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेताबीच निर्णायक छलफल गर्न लागेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने संवादमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
चुनावी तालिका र राजनीतिक सहमतिका सवालमा आजको बालुवाटार संवादलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।










