समानुपातिक निर्वाचनको लागि बन्दसूची पेश गर्ने आज अन्तिम दिन
  • प्रमुख खबर

पौष १४, काठमाडौं ।।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने सोमबार(आज)अन्तिम दिन रहेको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलहरुले बन्दसूची पेश गर्ने समयसीमा आज समाप्त हुँदैछ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

यस्तै भट्टराईका अनुसार राजनीतिक दलहरुले हिजो र आजसम्म गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा भने भोलि पौष १५ देखि २० गतेसम्म छानबिन गरिने छ ।

पौष २० गतेसम्म आयोगले बन्द सूची छानबिन गरेपछि पौष २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

त्यस्तै पौष २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी आयोगले त्यसलाई हेर्ने छ ।

यससँगै माघ ४ गते बन्द सूची प्रकाश गरिने र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए ।

यस पटकको निर्वाचनमा लागि सय वटा राजनीतिक दलले ९३ चुनाव चिन्ह मार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् ।

आयोगका अनुसार हिजो मात्र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका थिए ।

तीन वटा राजनीतिक दलहरूले १ सय ३४ जनाको बन्दसूची आयोगमा पेस गरेको प्रवक्ता भट्टराईले  बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्