प्रतिनिधिसभा चुनावमा नेकपाले समानुपातिकतर्फ सबै नयाँ अनुहार पठाउने
  • प्रमुख खबर

Oplus_131072

पौष १४, काठमाडौं ।।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सबै नयाँ अनुहारलाई अघि सार्ने निर्णय गरेको छ।

पार्टीले अघिल्लो कार्यकालमा प्रतिनिधिसभा, राष्ट्रियसभा सदस्य भइसकेका तथा मन्त्री बनेका नेताहरूलाई यसपटक समानुपातिक बन्दसूचीमा नराख्ने स्पष्ट नीति लिएको यस पार्टीकी नेतृ रेखा शर्माले जानकारी दिएकी छन्।

उनले भनिन्, “प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सदस्य भएका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरिएको छ।

यो अभ्यास यसपटक मात्रै होइन, हामीले अघिल्ला निर्वाचनहरूमा पनि निरन्तर गर्दै आएका छौँ।”

उनले बताए अनुसार आफूहरूको पार्टी नेकपाले समानुपातिक प्रणालीलाई अनुभवी नेताहरू दोहोर्‍याउने माध्यमभन्दा पनि नयाँ, सक्षम र समावेशी नेतृत्व अघि ल्याउने अवसरका रूपमा प्रयोग गर्दै आएको छ।

यसले पार्टी संगठनभित्र नयाँ पुस्ता, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका तथा अल्पसंख्यक समुदायका प्रतिनिधित्वलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।

नेतृ शर्माले समानुपातिक बन्दसूची तयार पार्ने सम्पूर्ण जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिइएको जानकारी दिँदै निर्वाचन आयोगले निर्धारण गरेको क्लस्टर प्रणाली अनुसार सूचीलाई अन्तिम रूप दिने काम तीव्र गतिमा भइरहेको बताइन्।

विषेशगरी नेकपाको यस निर्णयले आगामी निर्वाचनमा समानुपातिकतर्फ कस्ता नयाँ अनुहारहरू अघि आउने हुन् भन्ने विषयले चासो बढाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्