पौष १५, काठमाडौं ।।
वैकल्पिक राजनीतिमा ठूलो तरंग ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन्द्र(बालेन) शाह र उज्यालो नेपाल पार्टीबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ।
हिजो बेलुका सम्पन्न समझदारी अनुसार पार्टीको केन्द्रीय नेतृत्व संरचनामा सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ रहने तय भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले यस ऐतिहासिक सहमतिमा साक्षीका रूपमा हस्ताक्षर गरेका छन्।
एकतापछि पार्टीको नाम र चुनाव चिन्ह साविक रास्वपाकै रहनेछ। ‘घण्टी’ चिन्ह अन्तर्गत लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायलाई केन्द्रमा राख्दै देशभरका वैकल्पिक राजनीतिक शक्ति, समूह र स्वतन्त्र व्यक्तिलाई
साझा यात्रामा आउन आह्वान गर्ने सहमति भएको छ।
नयाँ संरचनामा उपसभापतिका रूपमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ।
रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको सहमतिपत्रमा बालेन शाहको उपस्थितिले एकतालाई थप प्रतीकात्मक र सन्देशमूलक बनाएको छ।
सहमतिमा भदौ २३ र २४ को आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका आन्दोलनका शहीद र घाइतेको बलिदानलाई प्रेरणास्रोत मानिने उल्लेख छ।
यससँगै उज्यालो नेपाल पार्टीका अभियान, युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई एकीकृत पार्टी संरचनामा समायोजन गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई प्रमुख आधार बनाइने स्पष्ट गरिएको छ।










