पौष १६, पोखरा ।।
पर्यटकीय राजधानी पोखरा यतिबेला पर्यटकहरुले भरिभराउ छ ।
विषेशगरी अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बुधबार(आज) होटल बुकिङले यहाँका होटलहरू हाउसफुल हुने सम्भावना बनेको छ।
होटल एशोसियसन पोखरा(हान)का अध्यक्ष लक्ष्मण सुवेदीले अङ्ग्रेजी नयाँ वर्ष मनाउन एक हप्ता अगाडि नै पोखरीको ८० प्रतिशत होटलहरू बुक भइसकेको जानकारी प्रमुख खबर डट कमलाई दिएका छन् ।
उनका अनुसार होटल बुकिङ आज साँझसम्म ९० प्रतिशत पुग्ने छ । अघिल्लो वर्ष नयाँ वर्षको अवसरमा जम्मा ६० देखि ७० प्रतिशत मात्र होटल बुकिङ भएकोमा यो वर्ष उल्लेख्य वृद्धि भएको उनले बताए ।
“यो वर्ष पोखरामा नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा धेरै उत्साहजनक छ,” अध्यक्ष सुवेदीले बताए।
उनका अनुसार यस वर्ष पोखरा आउने पर्यटकमध्ये भारतीय मुलुकबाट आउने पर्यटक र आन्तरिक पर्यटकको संख्या अत्याधिक छ।
युरोपियन तथा अन्य देशका पर्यटकको तुलनामा भारतीय र स्वदेशी पर्यटकको आगमन बढी देखिएको उनले जानकारी दिए।
पर्यटकहरूले अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरालाई पहिलो रोजाइ बनाउनुको प्रमुख कारण पोखराको प्राकृतिक सौन्दर्य, अनुकूल मौसम र विभिन्न घुम्न योग्य गन्तव्य रहेको अध्यक्ष सुवेदीको भनाइ छ।
“सुन्दर ताल, पोखराबाट देखिने हिमश्रृङ्खला, शान्त वातावरण, यहाँको मौसम र मनोरम दृश्यले पर्यटकलाई लोभ्याएको छ,” उनले भने ।
उनले सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरे पनि त्यसको अनुभूति भने पर्यटन व्यवसायीले गर्न नपाएको गुनासो पनि गरे।
उनले भने, “घोषणा त भयो तर पूर्वाधार, यहाँको प्रवर्द्धन र सहजीकरणका हिसाबले सरकारको उपस्थिति कता हो कता देखिन्छ ।” उनका अनुसार यसले के देखाउँछ भने सरकार छ न त छ तर कता हो कता भने जस्तो छ ।
उनले केही समय अगाडि बनेको अन्तरिम सरकार पनि चुनाव गराउन मात्र अग्रसर देखिएको तर यस क्षेत्रको विकास र विस्तारका लागि भने तत्परता नदेखाएको हुँदा दुःख लाग्ने बताए । तर पोखराका पर्यटन व्यवसायीहरुको एकआपसबिचको समझदारी र हातेमालोको कारण नै आफूहरूको मनोबल उच्च रहेको उनले बताए ।
उनले नयाँ वर्षको अवसरमा बढ्दो पर्यटक आगमनले पोखराको पर्यटन व्यवसायमा उत्साह थपिएको र व्यवसायीहरू थप पर्यटक भित्रिनेमा आशावादी बनेको पनि स्पष्ट पारे ।












