वाम राजनीतिमा नयाँ हलचल: नेकपा र विप्लवबीच एकता वा तालमेलको लागि छलफल शुरू
  • प्रमुख खबर

पौष १८, काठमाडौं ।।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र विप्लव नेतृत्वको नेकपा माओवादीबीच एकता वा चुनावी सहकार्य गर्ने उद्देश्यसहित सघन छलफल सुरु भएको छ।

लामो समयदेखि अलग–अलग राजनीतिक बाटोमा रहेका दुवै पार्टीबीच शुक्रबार(आज) उक्त विषयलाई लिएर छलफलमा जुटेको हो ।

विषेशगरी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताअघि नै ‘ब्रेक–थ्रु’ गर्ने लक्ष्यसहित शीर्ष तहका नेताहरू यैबेला सक्रिय भएका छन्।

यसअघि कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० घटक मिलेर नेकपा गठन हुँदा विप्लव नेतृत्वको साबिक नेपाल कम्युनिस्ट पार्टी एकता प्रक्रियाबाट बाहिरिएको थियो।

त्यसपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रममा विप्लव पक्षले जनयुद्धकालीन नाम ‘माओवादी’ पुनः प्रयोग गरेको थियो। तर बदलिँदो राजनीतिक परिस्थितिले यी दुई धारलाई फेरि नजिक ल्याएको छ।

यतिबेला समानुपातिक बन्दसूची मिलाउने विषयमा विप्लवसहित माओवादीका शीर्ष नेताहरू अहिले काठमाडौं भित्र नै छन्।

स्रोतका अनुसार वार्तामा विप्लव स्वयं अग्रसर रहेको र नेकपाको तर्फबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वास पात्र खटाइएको जनाइएको छ ।

केही दिनअघि पनि खुमलटारमा विप्लव र नेकपाका नेता कृष्णबहादुर महराबीच भएको भेटले राजनीतिक वृत्तमा थप चासो बढाएको छ।

समाजवादी मोर्चामा विप्लवलाई ल्याउन महराको भूमिका निर्णायक रहेको स्मरण गरिँदै अहिलेको संवादलाई पुरानो सम्बन्धको पुनः सक्रियताका रूपमा हेरिएको छ।

यद्यपि विप्लवको सचिवालयले पार्टी एकताको औपचारिक छलफल नभएको बताउँदै उनले भने,“देशी र विदेशी शक्तिहरूले कम्युनिस्ट आन्दोलन समाप्त पार्न षड्यन्त्र गरिरहेको यो पछिल्लो परिस्थितिमा सहकार्य, मोर्चाबन्दी र एकीकृत कम्युनिस्ट केन्द्र आवश्यक र त्यसमा हाम्रो विमति छैन।”

यस्तै यता माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले चुनावी तालमेल, सहकार्य र एकताको विषयमा नेकपाका नेताहरूसँग छलफल भएको स्विकारेका छन्।

हुनत: पौष १३ गते नेकपाका संयोजक प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी एकताका लागि दुई–तीन दलसँग गम्भीर छलफल भइरहेको बताएका थिए। त्यसको भोलिपल्ट नागरिक उन्मुक्ति पार्टीसँग एकता सहमति हुनु पनि त्यसैको संकेत भएको बताइएको छ।

निर्वाचन आयोगले समानुपातिक बन्दसूची संशोधनका लागि पौष २१ देखि २७ गतेसम्मको समय दिएको छ। यही समयसीमाभित्र एकता वा कम्तीमा चुनावी सहकार्यको खाका टुंग्याउने प्रयास दुवै पार्टीबीच भइरहेको छ।

आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनको समय माघ ६ गते तोकेको छ। कालिकोटबाट प्रचण्डको एकल नाम सिफारिस गर्नु पनि सम्भावित तालमेलका लागि रणनीतिक ‘होल्ड’ भएको चर्चा गरिएको छ।

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विप्लव एकता प्रक्रियामा आए आफू त्याग गर्न तयार रहेको अभिव्यक्ति दिनु राजनीतिक सन्देशका रूपमा हेरिएको स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्