सुदन गुरुङले गरे गोरखाबाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा
  • प्रमुख खबर

पुष २५, काठमाडौँ//

‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर–१ बाट उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गर्दै परिवर्तनको सुरुवात आफ्नै जन्मभूमिबाट गर्ने बताएका छन्।

“गोरखा क्षेत्र नम्बर–१ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,” गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, “आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।”

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सक्रिय रूपमा सहभागी रहेका गुरुङ केही समयअघि गोरखा पुगेका थिए। नागरिकतासम्बन्धी विषयमा सार्वजनिक रूपमा प्रश्न उठेपछि उनले आफ्नो जन्मगाउँ गोरखाको चुमनुब्री पुगेर स्थानीयसँग भेटघाट गरेका थिए। सो क्रममा उनले आफ्नै नागरिकता छानबिन गरिदिन माग गर्दै निवेदनसमेत दिएका थिए।

जेनजी आन्दोलनपछि सरकार गठनसम्बन्धी छलफलमा समेत उनी प्रत्यक्ष रूपमा संलग्न भएको बताइन्छ। पछिल्लो समय गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबीच देखिएको सहकार्य तथा एकताका प्रयासमा पनि सक्रिय देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्