कांग्रेस विशेष महाधिवेशन : राती ८ बजेदेखि मतदान
  • प्रमुख खबर

पुस ३०, काठमाडौं ।।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज राति ८ बजेदेखि मतदान हुने भएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशनकाे निर्वाचन समितिले सूचना निकालेर मतदान राति ८ बजेदेखि शुरू हुने जानकारी दिएको हो ।

निर्वाचन समितिका अनुसार प्रथम नामावली प्रकाशन दिउँसो ४ बजेसम्म, उम्मेदवारपछिको दाबी विरोध साढे ४ बजे, उम्मेदवारमाथिको दाबी विरोध छानबिन ५ बजेसम्म तोकिएको छ ।

निर्वाचन समितिका संयोजक एवम् वरिष्ठ अधिवक्ता सीताराम केसीले पुनः नामावली प्रकाशन ५ बजेर ५ मिनेटसम्म, उम्मेदवार मनोनयन दर्ता फिर्ता ५ बजेर ३५ मिनेटसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ६ बजेसम्म र मतदान शुरू राति ८ बजेदेखि हुने बताउनुभयो ।

पार्टीको पुरानै विधानअनुसार हुन लागेको चुनावमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदमा मतदान हुनेछ ।

विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समिति रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक अहिले ४ हजार ६३५ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्