उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टी एकीकृत, पोर्तेल बने उपाध्यक्ष
  • प्रमुख खबर

Oplus_131072

माघ १, काठमाडौं।।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच औपचारिक एकता भएको छ। बिहीबार(आज) उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत दुवै पार्टीबीच एकीकरण भएको हो।

एकता कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले पार्टी एकीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

एकतासँगै दुवै दलले वैकल्पिक राजनीति, परिवर्तनको चाहना र युवाको सहभागितालाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

जेनजी आन्दोलनका क्रममा दाहिने खुट्टा गुमाएका नेता पोर्तेलले उक्त आन्दोलनको भावना र पीडालाई राजनीतिक धारमा रूपान्तरण गर्ने उद्देश्यसहित राष्ट्रिय परिवर्तन पार्टी गठन गरेका थिए। अब त्यो अभियान उज्यालो नेपाल पार्टीसँगै अघि बढ्ने भएको छ।

यसअघि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको एकता भंग भएसँगै उज्यालो पार्टी समानुपातिकतर्फबाट प्रतिनिधित्व गुमाएको अवस्थामा थियो।

सोही सन्दर्भमा नयाँ राजनीतिक सहकार्यका रूपमा राष्ट्रिय परिवर्तन पार्टीसँग एकीकरण गरिएको नेताहरूले बताएका छन्।

एकीकरण सम्झौताअनुसार राष्ट्रिय परिवर्तन पार्टीका तर्फबाट १७ जना नेताको नाम उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा समावेश गरिएको छ।

त्यस्तै पार्टी एकीकरणसँगै राजेश पोर्तेललाई उज्यालो नेपाल पार्टीको उपाध्यक्षको जिम्मेवारी दिइएको छ। पोर्तेल पक्षका सात जनालाई केन्द्रीय सदस्य र दुई जनालाई सचिवालय सदस्य बनाउने सहमति पनि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्