१६५ क्षेत्रमा ३ हजार ४ सय ८४ उम्मेदवार चुनावी प्रतिस्पर्धाको लागि होमियो
  • प्रमुख खबर

Oplus_131072

माघ ७, काठमाडौं ।।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारको चहलपहल तीव्र बनेको छ।

प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रका लागि कुल ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको समयसीमाभित्र ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये २ हजार २ सय ९७ जना विभिन्न राजनीतिक दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् भने १ हजार १ सय ८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारको संख्या यस पटक उल्लेख्य देखिएको आयोगले जनाएको छ।

लैंगिक आधारमा हेर्दा ३ हजार ८८ जना पुरुष र ३ सय ९५ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। महिला उम्मेदवारको सहभागिता अझै न्यून देखिए पनि विगतको तुलनामा केही सुधार आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा नागरिकता वा मतदाता परिचयपत्रसहित १३ प्रकारका कागजात अनिवार्य गरेको थियो। आयोगका अनुसार सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

त्यस्तै आयोगको कार्यतालिका अनुसार बुधबार(आज) माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यसपछि आजै दिउँसो ३ बजेदेखि माघ ८ गते साँझ ५ बजेसम्म मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ।

माघ ८ गते साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। यस्तै, माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिनेछ।

सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरी ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्