गण्डकीमा राष्ट्रिय सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, २२३ मत खस्यो
  • प्रमुख खबर

माघ ११, पोखरा ।।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सातै प्रदेशमा आइतबार(आज)बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन सम्पन्न भएको छ।

सोही निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा समेत शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको हो।

यस निर्वाचनका लागि बिहानदेखि नै जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थितिका कारण मतदान केन्द्रमा चहलपहल देखिएको थियो।

निर्धारित समयअनुसार दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया पूरा भएको प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेशका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिएका छन्।

स्थानीय तहअन्तर्गत कुल १ सय ६९ मतदाता रहेकोमा १ सय ६६ मत खसेको छ। जसमध्ये १ सय २ पुरुष र ६४ महिला मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
यस प्रदेशमा झण्डै शतप्रतिशत सहभागिता देखिएको उनले बताए ।

त्यस्तै प्रदेश सभा सदस्यतर्फ ५९ मतदाता मध्ये ५७ मत खसेको छ। यसमा ३७ पुरुष र २० महिला सदस्यले मतदान गरेका छन्।

स्थानीय तह र प्रदेश सभा सदस्य दुवैतर्फको मतदान जोड्दा गण्डकी प्रदेशमा आजको निर्वाचनमा कुल २ सय २३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अबको केही बेरमा मतगणनाको तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा आज साँझ ५ बजेसम्म सार्वजनिक भइसक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीमा कास्कीको प्रदेश निर्वाचन कार्यालय पोखरा, कोशीमा कोशी प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेसमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमतीमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा मतदान भएको थियो ।

त्यस्तै लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत तथा सुदूरपश्चिममा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्