माघ १६, धनुषा ।।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र देखिने मतभेदहरूलाई सामान्य राजनीतिक बहसका रूपमा चित्रित गर्दै कांग्रेस अहिले पूर्ण रूपमा एकताबद्ध रहेको बताएका छन्।
उनले निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवाद र सहकार्य भइरहेको स्पष्ट पार्दै पार्टीभित्र कुनै गुटगत टकराव नरहेको दाबी गरे।
शुक्रबार(आज) धनुषा–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेस नेतृत्वबीच विश्वास र सहकार्य मजबुत रहेको सन्देश दिएका हुन्।
उनले भने,‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु। अन्य शीर्ष नेताहरूसँग पनि नियमित छलफल भइरहेको छ। विचार फरक हुन सक्छ तर अन्तिममा हामी एउटै लक्ष्यका लागि एक ढिक्का हुन्छौँ।’
उनका अनुसार कांग्रेस अहिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन सुदृढीकरण र निर्वाचन केन्द्रित अभियानमा जुटेको छ।
‘अहिले कांग्रेसभित्र मतभेद होइन, लक्ष्य र विश्वासको एकता छ,’ उनले जोड दिए। धनुषा–४ मा देउवा पक्षीय नेता महेन्द्र यादव कांग्रेसका उम्मेदवार रहेका छन्।
थापाले यादवको जित सुनिश्चित गर्न सबै नेता कार्यकर्तालाई एकजुट भएर मैदानमा उत्रिन आग्रह गर्दै कांग्रेसको एकताले निर्वाचन परिणाममा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।










