पोखरामा इन्जिनियरिङ्गमा प्रतिभाको प्रदर्शन, ६० घण्टे ह्याकाथनसहित पेक एक्स्पो सम्पन्न
  • प्रमुख खबर

माघ १६, पोखरा ।।
पोखरा इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको नवौं संस्करणको पेक इन्जिनियरिङ्ग प्रदर्शनी–२०८२ सम्पन्न भएको छ ।

माघ १४ र १५ गरी दुई दिनसम्म चलेको प्रदर्शनीमा ६५ विद्यालयका १ हजार बढी विद्यार्थी सहित झण्डै १० हजार जनाले अवलोकन गर्दै बिहीबार(हिजो)सम्पन्न भएको कलेज प्रशासनले जनाएको छ ।

समापन समारोहका प्रमुख अतिथि पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डिन, सह–प्राध्यापक बुद्धि राज जोशीले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा पोखरा विश्वविद्यालय अन्तर्गतका अन्य क्याम्पसहरूको तुलनामा पोखरा इन्जिनियरिङ्ग कलेज उत्कृष्ट रहेको बताए ।

प्रदर्शनी अवलोकनका क्रममा विद्यार्थीहरूले आविष्कार, अनुसन्धान र त्यसको व्यावहारिक रूपान्तरणको प्रक्रियामा अहिलेको कृतिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स) लाई आफ्नो परियोजनामा समावेश गरेको देख्दा आफू  प्रभावित भएको बताए ।

उनले भने,’वर्तमान शिक्षामा, विशेषगरी प्राविधिक शिक्षामा आविष्कार, ज्ञान, अनुसन्धान तथा त्यसको व्यवहारिक रुपान्तरण अत्यन्तै महत्वपूर्ण छ। यो एक्स्पोले विद्यार्थीको सीप र क्षमतालाई उजागर गर्न ठूलो भूमिका खेलेको पाए।’

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा इन्जिनियरिङ्ग कलेजका निर्देशक अम्बर गुरुङले प्रदर्शनीमा सहभागी विद्यार्थीहरूको सृजना सबै उत्कृष्ट रहेको बताए ।

उनले भने, ‘सैद्धान्तिक ज्ञानलाई समस्या पहिचान र समाधानका अभ्यासमार्फत व्यावहारिक रूपमा उतार्न विद्यार्थी सफल भएको छन् ।

विद्यार्थीका सृजनाले प्राविधिक शिक्षा के हो भन्ने कुरालाई स्पष्ट रूपमा देखाएको छ।’ प्रदर्शनीले विद्यार्थीमा नवप्रवर्तनशील सोच, अनुसन्धान प्रवृत्ति र व्यवहारिक सीप विकासमा सकारात्मक प्रभाव पार्ने कुरा मध्यनजर गर्दै प्रत्येक दुई वर्षमा यस प्रकारको कार्यक्रम कलेज आयोजना गर्दै आएको भन्दै निरन्तर गर्ने प्रतिवद्धता जनाए ।

क्वालिफाई राउण्ड पार गरेका विभिन्न १५ क्याम्पसका विद्यार्थी सहभागी ६० घण्टा निरन्तर चलेको ह्याकाथन प्रतियोगितामा पश्चिमाञ्चल क्याम्पस (डब्लूआरसी), पोखराको टिम युएसएले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्‍यो।

त्यस्तै, नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी (एनसिआईटी), ललितपुरको टिम भैरव दोस्रो र स्कुल अफ इन्जिनियरिङ (एसओइ), पोखराको टिम गिट होप्पेन् तेस्रो भएका छन् ।

आर्किटेक्चर ह्याकाथन अन्तर्गत निकिता गुरुङको टोली प्रथम, आयुष लाम्सालको टोली द्वितीय र देवकी थापाको टोली तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

पप्सिकल ब्रिज डिजाइन प्रतियोगितामा तेस्रो सेमेस्टरमा अध्ययनरत सैलेश पुन समूह प्रथम, ७औँ सेमेस्टरमा अध्ययनरत समाना पौडेल समूह द्वितीय र ५औँ सेमेस्टरमा अध्ययनरत सुबर्ण रुम्बा समूह तृतीय भएका छन् ।

आर्किटेक्चर परियोजना प्रतियोगिताअन्तर्गत वेस्ट इंगेजमेन्ट पुरस्कार ५ औँ सेमेस्टर, वेस्ट थिम एड्हेरन्स पुरस्कार ८औँ सेमेस्टर र वेस्ट क्रियटिभ डिजाइनको पुरस्कार पहिलो सेमेस्टरका विद्यार्थीले हात पारेका छन्। प्रतियोगितामा तेस्रो सेमेस्टरका दुई समूहलाई सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

सिभिल इन्जिनियरिङ परियोजना डिजाइन प्रतियोगितामा फ्लोड प्रिभेन्टिव मिजर्स सिस्टम बनाएका ५ औँ सेमेस्टरमा अध्ययनरत कुशल श्रेष्ठ समूह प्रथम ,पृथ्वीचोकमा ट्राफिक व्यवस्थापन प्रणाली बनाएको ८औँ सेमेस्टरमा अध्यनरत आयसा खनाल समूह द्वितीय, मिनी जलविद्युत आयोजना बनाएको तेस्रो सेमेस्टरमा अध्ययनरत बिनोद रेग्मी समूह तृतीय र घुम्ने पुल (रोटेटिङ ब्रिज) बनाएको विवेक राई समूह सान्त्वना भएका छन् ।

यसैगरी, वाल आर्ट प्रतियोगितामा श्रिति गुरुङ समूह प्रथम, अनुस्का थेबे समूह द्वितीय तथा सलिना पहारी समूह तृतीय भएका छन्।

कम्प्युटर तथा आईटी परियोजना प्रतियोगिता अमृता गुरुङ र राजेन्द्र सुबेदीको टोलीले तयार पारेको अडियो ट्रान्सफर एलआई-एफआई टेक्नोलोजी परियोजनाले प्रथम स्थान हासिल गरेको छ।

फर्स्ट रनरअप रोचक सापकोटाको रियल–टाइम पोज–ड्राइभन मोसन इन्टरएक्सन सिस्टम र सेकेन्ड रनरअप मनिष श्रेष्ठ रिजन श्रेष्ठ र वृत्तान्त श्रेष्ठको की ड्यास र अश्विन राजबोम्सी, धिरेन सेन ठकुरी र सन्तोष बानियाँको ई–स्पिक परियोजना चयन भएका छन्।

सान्त्वना पुरस्कारतर्फ अनिल पौडेल क्षेत्री, चन्दन तिवारी, रमिल लामिछानेको सजिलो–फिक्स र रोहित बनियाँ, संग पौडेल, विप्लव पौडेलको सुरक्षा ३६० परियोजनाले स्थान प्राप्त गरे।

यस्तै व्यवसायिक सम्भावना बोकेको नवप्रवर्तन परियोजनाको रूपमा लेजर ट्याग गेम चयन गरिएको थियो । यसलाई मिलन पौडेल, अर्जुन कुमार गिरी, मेशाक बुढाथोकी, साजिन प्रधान, त्रिशल अधिकारी, त्रिशा खनाल, स्मृति गुरुङ, ओपल ढामी, क्रिस्टिना गुरुङले तयार गरिएका थिए ।

एक्स्पोमा कम्प्युटर तथा सूचना प्रविधि (आईटी) विद्यार्थीहरूका लागि ह्याकाथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३५, २० र १० हजार रुपैयाँ नगद पुरस्कार व्यवस्था गरिएको थियो।

त्यसैगरी वास्तुकला (आर्किटेक्चर) विद्यार्थीहरूका लागि आर्किटेक्चर डिजाइन हाकाथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५, १५ र १० हजार रुपैयाँ प्राप्त गरेका छन्  ।

सिभिल इन्जिनियरिङ विद्यार्थीहरूका लागि पोप्सिकल ब्रिज डिजाइन कम्पिटिसनमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५, ३ र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

एक्स्पोमा विभागीय परियोजना प्रतियोगिताअन्तर्गत वास्तुकला विभागको परियोजना प्रतियोगितामा उत्कृष्ट क्रिएटिभ डिजाइन, वेस्ट थिम एड्रेसेस र वेस्ट इंगेजमेन्टले  १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विभागिय परियोजनातर्फ सिभिल इन्जिनियरिङ र कम्प्युटर तथा आइटी विभागको प्रतियोगिताको पुरस्कार राशि समान व्यवस्था गरिएको थियो।

दुवै विभागका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेता समुहले क्रमशः १५, १० र ५ हजार तथा सान्त्वनाले ३ हजार रुपैयाँ प्राप्त गरे।

त्यसैगरी डिप्लोमा तहको प्रतियोगितामा उत्कृष्ट सिभिल परियोजना र उत्कृष्ट कम्प्युटर परियोजनालाई ५–५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्