माघ १९, काठमाडौं ।।
सोमबार(आज) विश्वभर सिमसार दिवस, सिमसार र परम्परागत ज्ञान : सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने नारासहित यो दिवस मनाइँदैछ।
हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने यो दिवसले सिमसार क्षेत्रको संरक्षण र दिगो उपयोगप्रति जनचेतना जगाउने लक्ष्य राखेको छ। तर नेपालका सिमसार क्षेत्र भने दिनप्रतिदिन संकटमा पर्दै गएका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार मानवीय अतिक्रमण र जलवायु परिवर्तनका असरका कारण सिमसारहरू सुक्दै, साँघुरिँदै र प्रदूषित हुँदै गएका छन्।
विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार अव्यवस्थित विकास निर्माण, तीव्र जनसंख्या वृद्धि, नदी–नालामा फोहरमैला र ढल सोझै मिसाउने प्रवृत्तिले सिमसारको गुणस्तर खस्किएको छ।
“सिमसार संरक्षणमा हाम्रो लापरबाहीले जैविक विविधता नै जोखिममा परेको छ,” उनले बताए। विषेशगरी जलवायु परिवर्तनले निम्त्याएका बाढी, खडेरी, रासायनिक मल र विषादीको बढ्दो प्रयोग तथा परम्परागत कृषि प्रणालीमा आएको परिवर्तनले पनि सिमसार क्षेत्रलाई थप दबाब दिएको वरिष्ठ इकोलोजिष्ट आचार्यको भनाइ छ।
नेपालमा हाल फेवाताल, कोशीटप्पु, घोडाघोडी ताल, जगदीशपुर जलाशय, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड लगायत गरी १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन्।
यी क्षेत्र केबल पानीका स्रोत मात्र नभई जैविक विविधताको आश्रयस्थल पनि हुन्। विभागको तथ्याङ्कअनुसार नेपालका १ सय ७२ लोपोन्मुख वनस्पति र प्राणी प्रजाति सिमसारमै निर्भर छन्।
यस्तै विश्वको करिब ९ प्रतिशत र नेपालको करिब ५ प्रतिशत भूभाग सिमसारले ओगटेको छ। जल शुद्धीकरण, जलचक्र नियमन र तापक्रम सन्तुलन जस्ता महत्त्वपूर्ण काम गर्ने भएकाले सिमसारलाई ‘प्रकृतिको मिर्गौला’ पनि भनिन्छ।
विश्वव्यापी रूपमा हालसम्म १सय ७२ देश रामसार महासन्धिमा आबद्ध छन् भने २ हजार ४ सय २२ सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत भइसकेका छन्।












