माघ २१, पोखरा ।।
अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित घान्द्रुक गाउँ
कास्कीको प्रसिद्ध सुन्दर पर्यटकीय गाउँ हो । यो गाउँ कास्की जिल्लाभित्र मात्र लोकप्रिय नभई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा समेत सुपरिचित छ ।
समुन्द्री सतहबाट करिब १ हजार ९ सय ४० मिटर उचाइमा रहेको यो गाउँ प्राकृतिक सौन्दर्य, मौलिक गुरुङ संस्कृति, शान्त वातावरणका कारण आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ।
यसै क्रममा पछिल्लो समय पर्यटन गतिविधिलाई थप व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले घान्द्रुकमा “सबै मौसममा पर्यटन” भन्ने मूल नारासहित घान्द्रुक पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ।
फागुन ६ देखि ९ गतेसम्म मेश्रम बराह माध्यमिक विद्यालय परिसरमा सञ्चालन हुने महोत्सव घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रो–धीं क्लब कोंड (घान्द्रुक) कास्कीको संयुक्त आयोजनामा हुन लागेको हो।
महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउँदै पर्यटन प्रवर्द्धन, खेलकुद विकास र स्थानीय संस्कृति संरक्षणमा टेवा पुर्याउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, स्थानीय परम्परागत प्रस्तुति र रोमाञ्चक खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछन्। जसअन्तर्गत अन्तरपालिका वडा स्तरीय पुरुष भलिबल, प्रथम राष्ट्रिय अन्तरपालिका खुला बास्केटबल, प्रथम राष्ट्रिय घोडा दौड, ५.५ किलोमिटर घान्द्रुक चक्रिय पदमार्ग दौड, छेलो प्रतियोगिता, रस्साकस्सी (महिला/पुरुष) तथा भेडाको साड जुधाइ जस्ता कार्यक्रम समावेश छन्।
प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। भलिबल र बास्केटबलमा प्रथम हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, द्वितीयले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
राष्ट्रिय घोडा दौड प्रतियोगितामा प्रथमलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ, द्वितीयलाई ४० हजार ४ सय ४४ रुपैयाँ, तृतीयलाई २० हजार २ सय २२ रुपैयाँ लगायत सातौँ स्थानसम्म पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै, ५.५ किलोमिटर पदमार्ग दौडमा प्रथमलाई १६ हजार ६ सय ६६ रुपैयाँ, छेलो प्रतियोगितामा प्रथमलाई १६ हजार ६ सय ६६ रुपैयाँ, रस्साकस्सी प्रतियोगितामा महिला तथा पुरुष दुवै विधातर्फ प्रथमलाई ११ हजार १ सय ११ रुपैयाँ, तथा भेडाको साड जुधाइमा प्रथम हुनेलाई ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
महोत्सवका अवसरमा घान्द्रुकका होटलहरूमा करिब २ हजार ५ सय पर्यटकलाई आवास क्षमता उपलब्ध हुने र १५ प्रतिशत छुट समेत प्रदान गरिने होटल व्यवस्थापन समितिका अध्यक्ष लछिन गुरुङले जानकारी दिए।
यसअघि दुई संस्करणसम्म घान्द्रुक पर्यटन व्यवस्थापन समितिले एकल रूपमा महोत्सव आयोजना गर्दै आएको थियो। यस वर्ष भने थप व्यापक सहभागिता र आकर्षणका साथ संयुक्त रूपमा आयोजना गरिँदैछ, जसले घान्द्रुकलाई राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप सुदृढ बनाउने विश्वास गरिएको छ।












