चुनाव प्रचारमा सवारीसाधन प्रयोग कडाइ, अनुमति बिना सवारी चलाउन नपाइने
  • प्रमुख खबर

Oplus_131072

माघ २२, काठमाडौं ।।
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारलाई व्यवस्थित र मर्यादित बनाउन सवारीसाधन प्रयोगमा कडाइ गरेको छ।

आयोगले “सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२” जारी गर्दै राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले प्रचारका लागि गाडी प्रयोग गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको हो।

कार्यविधिअनुसार प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन वा चारवटा घोडा प्रयोग गर्न पाउनेछन्।

पालिका तहमा महानगर तथा उपमहानगरका मेयर–उपमेयरका लागि दुईवटा, नगरपालिका र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षका लागि एउटा तथा वडा तहका उम्मेदवारले एउटा मात्रै गाडी प्रयोग गर्न सक्नेछन्।

सवारी सञ्चालन नहुने दुर्गम क्षेत्रमा भने घोडा प्रयोग गर्न सकिने प्रावधान राखिएको छ। आयोगले मौन अवधिमा प्रचारका लागि कुनै पनि सवारीसाधन प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ।

अनुमति बिना गाडी प्रयोग गरेमा वा मौन अवधिमा सञ्चालन गरेको पाइएमा त्यस्ता सवारी नियन्त्रणमा लिएर निर्वाचन सम्पन्न भएपछि मात्र फिर्ता गरिने चेतावनी दिइएको छ।

मतदानका दिन समेत अनुमति प्राप्त सवारीबाहेक अन्य गाडी सञ्चालनमा रोक लगाइनेछ। यद्यपि उम्मेदवार, सुरक्षाकर्मी, निर्वाचन अधिकारी, पर्यवेक्षक, सञ्चारकर्मी, विदेशी पर्यटक तथा आयोगले तोकेका अन्य निकायलाई विशेष अनुमति प्रदान गरिनेछ।

एम्बुलेन्स, दमकल, खानेपानी ट्याङ्कर, अस्पताल सेवा लगायत अत्यावश्यक तथा आकस्मिक सेवाका सवारीसाधन भने अनुमति बिना नै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।

आयोगले सवारीसाधनको दुरुपयोग रोक्दै निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न यो कडाइ लागू गरिएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्