माघ २२, काठमाडौं ।।
फागुन २१ गरेको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन गृह मन्त्रालयले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ।
मन्त्रालयले आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका देशभरका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्न विशेष परिपत्र जारी गरेको हो।
मन्त्रालयले निर्वाचन अवधिमा आचारसंहिता उल्लङ्घनका घटना हुन नदिन सक्रिय निगरानी बढाउन, उल्लङ्घन देखिए तत्काल कारबाहीको प्रकिया अघि बढाउन तथा निर्वाचन सम्बन्धी गरिएका सम्पूर्ण गतिविधिको प्रतिवेदन नियमित रूपमा मन्त्रालयमा पठाउन निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार अनुगमनलाई थप कडाइ र व्यवस्थित बनाउन यस्तो कदम चालिएको हो।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको थियो।
सोही व्यवस्थाअनुसार अब जिल्लास्तरबाट प्रत्यक्ष निगरानी, समन्वय र नियन्त्रणलाई तीव्र पारिनेछ। यसैबीच मन्त्रालयले सचिवको संयोजकत्वमा केन्द्रीय कमाण्ड पोस्ट समेत गठन गरेको छ।
उक्त कमाण्ड पोस्टले देशभरको सुरक्षा अवस्था, आचारसंहिता कार्यान्वयन तथा निर्वाचनसँग सम्बन्धित गतिविधिको समन्वय, अनुगमन र आवश्यक निर्णय तत्काल लिन भूमिका खेल्ने जनाइएको छ।












