माघ २३, काठमाडौं ।।
प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनको सम्झनामा यस वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य र विविध कार्यक्रमसहित मनाइने भएको छ।
वि.सं.२००७ साल फागुन ७ गते राणा शासनको अन्त्य गरी नेपालमा पहिलोपटक प्रजातन्त्र स्थापना भएको गौरवपूर्ण दिनको अवसरमा आउँदो फागुन ६, ७ र ८ गते देशव्यापी रूपमा दिवस मनाउने निर्णय गरेको हो।
हिजो बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले यस दिवसको अवसरमा तीनदिने कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै मूल समारोह समितिसमेत गठन गरेको छ।
प्रधानमन्त्री अध्यक्ष रहने उक्त समितिमा मन्त्रिपरिषद्का सदस्यहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, मुख्य सचिव, प्रधान सेनापति, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहेका छन्।
यता गृह मन्त्रालयका सचिवलाई यस कार्यक्रमका लागि सदस्य–सचिव तोकिएका छन्।
सरकारको निर्णयअनुसार देशभर सरकारी तथा सार्वजनिक निकायहरूमा विशेष कार्यक्रम, प्रभातफेरी, सांस्कृतिक प्रस्तुति र सम्मान समारोह आयोजना गरिनेछ भने विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा समेत दिवसका कार्यक्रम सञ्चालन गरिनेछन्।
मुख्य समारोह भने काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोहका साथ सम्पन्न हुनेछ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रजातन्त्र दिवस नेपाली जनताको बलिदान, संघर्ष र लोकतान्त्रिक चेतनाको प्रतीक भएको उल्लेख गर्दै फागुन ७ लाई राष्ट्रको गौरवमय इतिहास सम्झने दिनका रूपमा लिनुपर्ने बताइन्।
उनले विगतका जनआन्दोलनहरूले मुलुकमा परिवर्तनको मार्ग प्रशस्त गरेको उल्लेख गर्दै प्रजातान्त्रिक मूल्य–मान्यताको संरक्षण र सुदृढीकरणमा सबै एकजुट हुन आह्वान गरिन्।












