माघ २५, काठमाडौं ।।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक असन्तुष्टि फेरि सतहमा आएको छ। पार्टीका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पार्टीको सबै जिम्मेवारी र सदस्यताबाटै राजीनामा दिएका छन्।
पार्टी सञ्चालनको विधि, प्रक्रिया र नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै उनले पद त्यागेको घोषणा गरेका हुन्। शाहले आइतबार(आज) आफूले पार्टीलाई औपचारिक रूपमा राजीनामाबारे जानकारी गराइसकेको बताए।
उनका अनुसार पार्टीले बोकेको संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई संस्थागत गर्न नेतृत्व गम्भीर नभएको र व्यक्तिगत स्वार्थमा अलमलिएको देखेपछि आफू बसिरहन नसकेको निष्कर्षमा पुगेका हुन्।
सामाजिक सञ्जालमार्फत शाहले शनिबार राजीनामाको घोषणा गर्दै लेखेका छन्, “आजको मितिबाट मैले राप्रपाको सबै पद तथा सदस्यबाट राजीनामा दिएको जानकारी गर्दछु। मलाई गएको साढे तीन वर्ष साथ सहयोग गर्ने सबै नेता तथा कार्यकर्तालाई हृदयदेखि नै धन्यवाद! राप्रपामा देशभरि हजारौँ इमानदार नेता कार्यकर्ता छन्। तर नेतृत्व तहको विरोधाभास चरित्रमा आफ्नो ठाउँ बनाउन असम्भव रहेछ भन्ने अनुभूति भयो।”
उनले पार्टीभन्दा राष्ट्र सर्वोपरि भएको स्पष्ट पार्दै भनेका छन्,”राष्ट्रको अगाडि पार्टी गौण हो। म सदा राष्ट्रको हितमा इमानदारीपूर्वक कर्म गर्नेनै छु।”

उनको राजीनामालाई राप्रपाभित्र बढ्दो आन्तरिक विवाद र नेतृत्वप्रति असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। केही समयअघि मात्रै केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए।
लगातार नेताहरू बाहिरिनु र नेतृत्वमाथि प्रश्न उठ्नुले राप्रपाको संगठनात्मक एकता र आगामी राजनीतिक रणनीतिमा असर पर्ने विश्लेषण गरिएको छ।
पार्टीले उठाउँदै आएको एजेन्डा कार्यान्वयनभन्दा आन्तरिक शक्ति संघर्षमा अल्झिएको आरोप बढ्दै जाँदा यसले राप्रपाको भविष्य चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।










