माघ २६, विराटनगर ।।
उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा गोरे भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष जेल सजायको फैसला सुनाएको छ ।
जिल्ला अदालत मोरङबाट जन्मकैद सजाय पाएर कारागारमा रहेका उनलाई उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सनम शाक्यको हत्या कसुरमा थप दश वर्ष कैद सजाय थप गर्ने आदेश गरेको हो ।
यस घटनालाई लिएर मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश भरत लम्सालले सुन तस्करीको प्रमाण नपुगेको ठहर गर्दै सनम शाक्यको हत्यामा मात्र ८ जनालाई कैद सजाय हुने फैसला सुनाएको थियो ।
तस्करी गरेर ल्याएको सुन गायव बनाएको आरोपमा ‘गोरे’ को समूहले यातना दिँदा मोरङमा सनम शाक्यको हत्या गरेको थियो ।
वि. सं. २०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा सनमको हत्या गरेको आरोपमा अदालतले गोरे सहित ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो।
जन्मकैदको सजाय पाउनेमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।
शाक्यको हत्या अभियोगमा राजन कुमारलाई ३ वर्ष र माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना कैद सजाय हुने फैसला गरिएको थियो ।
उच्च अदालत विराटनगरले अभियुक्तहरू नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा सजाय १० वर्ष घटाएर १० वर्ष मात्रै कायम गरेको छ ।
उक्त कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न रहेका अभियुक्त मदन सिलवाललाई जिल्लाको फैसला उल्ट्याउँदै तीन वर्ष मात्रै कैद सजाय सुनाएको छ ।
अभियुक्तहरू लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतकै फैसला सदर गरेको छ ।












