समीकरण जटिल, दबाब चरम: नेपालका लागि आजको जित्नै पर्ने दबाब
  • प्रमुख खबर

Oplus_131072

फागुन ३, काठमाडौं ।।
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल आइतबार(आज) दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्दैछ।

मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि शुरु हुनेछ । समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

यससँगै अबको बाँकी दुवै खेल पनि जित्नुपर्ने छ । तर यी खेलहरु जिते पनि नेपालको लागि समीकरण सहज भने छैन ।

विश्वकपमा सहभागी अन्य टोलीको नतिजामा भर पर्नुपर्ने अवस्था छ। आज हार बेहोरेमा नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ।

यता वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ को संघारमा उभिएको छ। नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ ।

त्यस्तै आजको खेल अघि शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले विपक्षी टोली बलियो भएपनि नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने बताएका छन्।

उनले स्पष्ट रूपमा भने,“अब बाँकी दुई खेल जित्नेबारेमा नै सोच्नुपर्छ, नत्र झोला प्याक गरेर घर फर्किनु बाहेक विकल्प छैन।”

लले सुरुवाती दुई हार फरक प्रकृतिको भएको उल्लेख गर्दै टोलीले ‘ग्याप’ पहिचान गर्नुपर्नेमा जोड दिए। यसका साथै सामाजिक सञ्जाल प्रयोगबारे उनको कडा टिप्पणीपछि टोलीभित्र अनुशासन र ध्यान केन्द्रित गर्ने विषयले पनि चर्चा पाएको छ।

यता वेस्ट इन्डिजका स्पिनर अकिल होसेनले नेपाली टोलीको क्षमताबारे आफूहरू जानकार रहेको बताए।“नेपालले के गर्न सक्छ भन्ने हामीलाई राम्रोसँग थाहा छ,” उनले भने।

गत सेप्टेम्बरमा शारजाहमा भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालसँग २–१ ले पराजित भएको अनुभवले क्यारिबियन टोलीलाई सावधान बनाएको देखिन्छ। यद्यपि त्यतिबेला खेलेका खेलाडीमध्ये केवल दुई जना मात्र हालको विश्वकप टोलीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्