प्रतिनिधिसभा निर्वाचन: अब ५ लाख मतपत्र मात्रै छप्न बाँकी
  • प्रमुख खबर

फागुन ४, काठमाडौं ।।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकी रहेको ५ लाख मतपत्र सोमबार(आज) सम्म छपाई सम्पन्न गर्ने जनाएको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख मतपत्र छपाई गर्नुपर्नेमा अब केवल ५ लाख मात्र बाँकी रहेको छ।

ती मतपत्र बागमती प्रदेशका लागि हुन् र आज बेलुकासम्म सबै छपाई सकिने उनले जानकारी दिए।

दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छाप्दै आएको केन्द्रले लक्ष्यभन्दा अघि नै काम सम्पन्न गर्ने अवस्थामा पुगेको जनाएको छ।

यसअघि छापिएका १० लाख नमूना मतपत्र निर्वाचन आयोगले विभिन्न स्थानमा पुर्‍याइसकेको छ।

समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाई गरी प्याकिङ सम्पन्न भइसकेको छ र ती मतपत्र सम्बन्धित जिल्लामा पठाउने क्रम जारी छ।

पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक सबै मतपत्र पुगिसकेको छ भने अन्य प्रदेशमा पनि यही फागुन १२ गतेभित्र पुर्‍याउने लक्ष्यका साथ ढुवानी कार्य तीव्र बनाइएको छ।

छपाई सकिएलगत्तै प्याकिङ प्रक्रिया पूरा गरी बाँकी जिल्लातर्फ मतपत्र पठाइने केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्