कास्की-२ का एमाले उम्मेदवार रश्मी आचार्यको प्रतिबद्दता : समृद्दिका लागि पर्यटन, उत्पादन वृद्दिका लागि कृषि, सिंचाई र पशुपालन
  • प्रमुख खबर

फागुन ०६, काठमाडौं ।।

कास्की क्षेत्र नम्बर–२ का नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले पोखरालाई पर्यटनको राजधानी बनाउने प्रतिबद्दता गरेका छन् । पर्यटन राजधानीका रुपमा पोखरालाई स्थापित गर्दै पोखरालाई विश्वस्तरको पर्यटकीय गन्तव्य बनाउने उनको योजना छ । त्यसका लागि पर्यटकीय गन्तव्यहरुको पहिचान, आवश्यक पूर्वाधार निर्माण र पर्यटकीय सेवा–सुविधा विस्तार गर्ने योजना उनको छ । त्यस्तै, पदमार्ग निर्माण र स्तरोन्नती, दृश्यावलोकन केन्द्र निर्माणलगायतलाई चुनावी प्रतिबद्दतामा प्राथमिकता दिइएको छ ।

आचार्यको प्रतिबद्दता पत्रमा अर्मलाकोट, ढिकीडाँडा, काहुँ–धरहरा, मौजा, भलाम, निर्मलपोखरी, कृस्ती, भरतपोखरीलगायतका आसपासमा हाइकिङ पदमार्ग, भ्यू प्वाइन्ट निर्माण तथा सूर्योदय–सूर्यास्त अवलोकन केन्द्र निर्माण गर्ने योजना समेटिएका छन् । त्यस्तै, ग्रामीण बस्तीमा घरबास (होमस्टे) कार्यक्रमलाई प्रवद्र्दन गर्दै पर्यटकीय आकर्षण विविधीकरण गर्ने प्रतिबद्दता व्यक्त गरिएको छ। एनले पर्यटकीय गन्तव्यहरु पतलेछाँगो, गुप्तेश्वरगुफा, महेन्द्र गुफालगायत गुफा क्षेत्रको व्यवस्थित संरक्षण र सौन्दर्यकरण गरिने पनि उल्लेख गरेका छन् । उनले पोखरालाई माईस टुरिजमको हब बनाउने पनि योजना अघि सारेका छन् ।

उम्मेदवार आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकार मार्फत छिमेकी देशहरुसँग कुटनीतिक पहल गर्न पहलकदमी लिने, लामेआहालदेखि बागमारा हुँदै छोरेपाटनसम्मको सडकलाई स्याङ्जा आवतजावतको वाईपास रोड बनाउने, पोखरालाई सडक सञ्जालसँग जोड्न रिङरोड बनाउने, सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई पनि उनले जोड दिएका छन् । उनले चार दशकदेखि बन्न नसकेको पोखरा वसपार्क निर्माणका लागि पहलकदमी लिने पनि प्रतिबद्दता जनाएका छन् ।

उम्मेदवार आचार्यले भूमिहीन, सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीहरुलाई संविधानले ज्ञारेन्टी गरेको जमिन र आवासको लागि पहलकदमी लिने पनि उल्लेख गरेका छन् । उम्मेदवार आचार्यले कृषि उत्पादन वृद्दि र शिक्षामा प्रविधिमैत्री सुधार गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘समृद्ध पोखरा, आत्मनिर्भर गाउँ’को अवधारणा प्रस्तुत गर्दै उनले कृषितर्फ कृषि बजार व्यवस्थापन र प्राविधिक शिक्षाको प्रवद्र्दनलगायतका योजना समेटेका छन् । उनले कृषिलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्दिका लागि बाँदर नियन्त्रण नीति बनाउने प्रतिबद्दता जनाएका छन् । आधुनिक कृषि बजार, चिस्यान केन्द्र र ‘कोसेली घर’ स्थापना निर्माण गर्ने प्रतिबद्दता पनि उनले जनाएका छन् । उनले जडीबुटी तथा वन पैदावार उत्पादन र व्यावसायिक पशुपालन फार्म स्थापना गरी रोजगारी सिर्जना गर्ने उल्लेख गरेका छन् ।

गण्डकी विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थासँग सहकार्य गर्दै पर्यटन, कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङ, सूचना प्रविधि, संगीत र खेलकुद जस्ता क्षेत्रमा अध्ययन–अनुसन्धान प्रवद्र्दन गर्ने उनको प्रतिबद्दता पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्