फागुन ७, काठमाडौं ।।
बिहीबार(आज) राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने सरकारी तथा गैरसरकारी निकायहरूले ऐतिहासिक उपलब्धिको स्मरण गर्दै विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
वि.सं. २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्रले देशको राजनीतिक प्रणालीमा युगान्तकारी परिवर्तन ल्याएको मानिन्छ।
यही ऐतिहासिक जगमा टेकेर वि.सं. २०४६ साल चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भयो भने वि.सं. २०६३ साल वैशाख ११ गते लोकतन्त्र स्थापना भयो । त्यसपछि वि.सं. २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गर्यो ।
यसैक्रममा दोस्रो संविधानसभाले वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरी कार्यान्वयनमा ल्यायो ।
यी सबै ऐतिहासिक परिवर्तनहरूको आधारशिला फागुन ७ गतेको प्रजातन्त्र स्थापना भएकाले यो दिवसलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। यद्यपि प्रजातन्त्रकै जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि नागरिकको अपेक्षाअनुसार सुशासन, समृद्धि र स्थायित्व सुनिश्चित हुन नसकेको भन्दै असन्तुष्टि र गुनासा पछिल्लो क्रममा निकै बढिरहेका छन् ।
यही असन्तुष्टिको पृष्ठभूमिमा गएको भदौ २३ र २४ गते नवयुवाहरूले विद्रोहसमेत गरेका थिए । सोही विशेष राजनीतिक परिस्थितिपछि आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुन गइरहेको छ, जसलाई देशको लोकतान्त्रिक स्थायित्वका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
यस्तै आज निर्वाचन दिवस पनि रहेको छ। यो दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आम चुनाव वि.सं. २०१५ साल फागुन ७ गते सुरु भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको थियो ।
सोही ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष यस दिन निर्वाचन दिवस मनाउने गरिँदै आएको छ। यस वर्ष प्रतिनिधिसभा सदस्य निर्वाचनमै केन्द्रित हुनुपरेकाले निर्वाचन आयोगले काठमाडौंको कान्तिपथस्थित परिसरमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाउने तयारी गरेको जनाएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन दिवसले मतदाताको अधिकार, लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाको महत्वलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्र, निर्बाध र शान्तिपूर्ण रूपमा चुनावी प्रचार–प्रसार गर्न आह्वान गरेका छन्।
उनले चुनावमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक तथा मतदाताको सुरक्षाको प्रत्याभूति गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।
भण्डारीले स्वच्छ, पारदर्शी र मितव्ययी निर्वाचनमार्फत शान्ति, स्थिरता, समृद्धि र सुशासनको मार्ग सुदृढ हुने विश्वास व्यक्त गर्दै फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि उत्पन्न राजनीतिक अस्थिरतालाई सही दिशामा लैजाने अपेक्षा गरिएको बताए।
गएको भदौ २३ र २४ गतेको नवयुवा विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान दिन आउन अब १४ दिन मात्र बाँकी रहेको छ ।












