फागुन ९, शनिबार ।।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रधानमन्त्री सुशीला कार्कीले तिब्रताका साथ काम गर्न निर्देशन दिएकी छन् ।
शनिबार(आज) निर्वाचनको तयारी सन्दर्भमा लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले सबै जिम्मेवार बन्न निर्देशन दिएकी हुन् ।
निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले दिएको बैठक पछि जानकारी गराए । प्रधानमन्त्री कार्कीसहित आज बिहान मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा समग्र प्रदेशको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएको लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिएका छन् ।
यस्तै जिल्लास्थित सुरक्षा समितिले जिल्लाको चुनौतीका अवस्था पहिचान गरेर त्यसैअनुरूपको सुरक्षा रणनीति बनाएर अघि बढ्न प्रधानमन्त्रीबाट निर्देशन भएको समेत उनले बताए ।
विषेशगरी प्रदेशका १२ वटै जिल्लामा निर्वाचनको तयारीलाई लिएर प्रदेशमा गठन भएको निर्वाचन कमाण्ड सेलसँग संवाद गरेर निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले योजना बनाएका विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराउने काम समेत भएको उनले बताए ।
जिल्लागत रूपमा अतिसंवेदनशील, संवेदनशील र सामान्य निर्वाचन मतदान केन्द्र पहिचान गरेर आवश्यक तयारी गरिएको जानकारी गराए । जिल्लास्थित सरकारी निकायले त्यस्ता चुनौती पहिचान गरेर समाधानका लागि आवश्यक संवाद र छलफल गरेर काम गर्ने विषयमा जानकारी गराइएको थियो ।
त्यस्तै प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये प्रमुख रूपमा तराईका जिल्लामा खुला सीमाना प्रमुख साझा चुनौतीका रूपमा रहेका विषयमा छलफल भएको बताए । यस प्रदेशमा पश्चिम नवलपरासीदेखि बर्दियासम्ममा ४ सय १४ किलोमिटर खुला सिमाना छ ।
प्रदेशमा एउटा हिमाली जिल्ला रुकुमपूर्व सञ्चारमा सूचना संकलन, पहुँच जस्ता विषय, जनसांख्यिक विविधताका हिसाबले धार्मिक, जातीय र भौगोलिकता जस्ता विषयमा समस्या आउन सक्ने सम्भावनालाई पहिचान गरेर तयारी गरिने पनि बताए ।
प्रधानमन्त्रीको निर्देशनबाट निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न थप हौसला मिलेको र प्रतिबद्धताका साथ निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्नतर्फ सबै एकजूट भएर लाग्ने प्रमुख सचिव काप्रीले जानकारी दिए।












