फागुन १२, काठमाडौं ।।
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार(आज)सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
उनका अनुसार निर्वाचनको तयारी, मतदान व्यवस्थापन र मतगणना प्रक्रियालाई सहज बनाउन उक्त निर्णय गरिएको हो। सरकारले निर्वाचन आयोगको सिफारिसअनुसार बिदा दिने निर्णय गरेको जनाएको छ।
आयोगले निर्वाचन सामग्री ढुवानी, कर्मचारी परिचालन, सुरक्षाकर्मी व्यवस्थापन तथा मतदातालाई मतदानमा सहभागी हुन सहज वातावरण बनाउन कम्तीमा तीन दिन बिदा आवश्यक पर्ने सुझाव दिएको थियो।
फागुन २० गते निर्वाचन पूर्वतयारी र कर्मचारी व्यवस्थापन, फागुन २१ गते मतदान तथा फागुन २२ गते मतगणनाको प्रारम्भिक प्रक्रिया र प्रशासनिक व्यवस्थापनका लागि बिदा प्रभावकारी हुने सरकारको विश्वास छ।
गृहमन्त्री अर्यालका अनुसार मतदान हुने दिन सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहनेछन् भने अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।
निजी क्षेत्रलाई पनि निर्वाचनलाई सहयोग पुर्याउने गरी व्यवस्थापन गर्न सरकारको आग्रह रहेको छ। सरकारले मतदातालाई तोकिएको मतदान केन्द्रमा पुगेर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान गर्न अपिल गरेको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।












