आचारसंहिता विपरीत उम्मेदवारको फोटो छापिएका टि–सर्टमा प्रहरीको कारबाही
  • प्रमुख खबर

Oplus_131072

फागुन १७, काठमाडौं ।।
निर्वाचन आचारसंहिताविपरीत छापिएका १ सय ८ थान टि–सर्ट प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न पसलबाट नियन्त्रणमा लिएको छ।

चुनावी प्रचारप्रसारमा प्रयोग गर्न तयार पारिएका ती टि–सर्टमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको फोटो तथा प्रचारात्मक सन्देश प्रिन्ट गरिएको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियमित अनुगमनका क्रममा आचारसंहिता उल्लङ्घन भएको आशंकामा छापा मार्दा ती सामग्री बरामद गरिएको हो।

निर्वाचन आचारसंहिताको दफा १३ (घ) ले निर्वाचन प्रचारका क्रममा मतदातालाई प्रभाव पार्ने उद्देश्यले लुगा, टि–सर्ट, टोपीलगायतका प्रचार सामग्री वितरण गर्न निषेध गरेको छ।

उक्त प्रावधानविपरीत प्रचार सामग्री उत्पादन तथा भण्डारण गरिएको पाइएपछि बरामद गरिएको टि–सर्ट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको र आचारसंहिता उल्लङ्घनमा संलग्न व्यक्ति तथा समूहविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता कार्यान्वयनलाई कडाइ गरिएको भन्दै प्रहरीले सबै राजनीतिक दल, उम्मेदवार तथा व्यवसायीलाई कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्