निर्वाचनको लागि आयोग पूर्ण रूपमा तयार:कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी
  • प्रमुख खबर

Oplus_131072

फागुन १७, काठमाडौं ।।
आगामी प्रतिनिधि सभाको निर्वाचन आउन अब मात्र तीन दिन बाँकी छ। यसका लागि सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भइसकेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले घोषणा गरेका छन्।

आइतबार(आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले निर्वाचन आयोग कुनै पनि चुनौती सामना गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।

देशका उच्च पहाडी र हिमाली जिल्लादेखि हिमालपारिका दुर्गम बस्तीहरूसम्म आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्‍याइसकिएको उनले बताए।

उनका अनुसार कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद पनि मतपत्र, मतपेटिका र आवश्यक उपकरण समयमै सम्बन्धित केन्द्रमा पुगेको बताए।

मिति घोषणा भएयता सञ्चार क्षेत्रले खेलेको रचनात्मक र जिम्मेवार भूमिकाको प्रशंसा गर्दै भण्डारीले भने, “मिडियाले सकारात्मक वातावरण निर्माण गरिदिँदा चुनावी माहोल देउरालीसम्म पुगेको छ, अब २१ गते भञ्ज्याङमा पुगेर भारी बिसाउनेछौं।” उनले यो अभिव्यक्तिमार्फत निर्वाचन सफलतापूर्वक सम्पन्न हुने दृढ विश्वास व्यक्त पनि गरे।

जनशक्ति परिचालन, सुरक्षा समन्वय र प्राविधिक व्यवस्थापनका सबै पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उल्लेख गर्दै उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने प्रतिबद्धता दोहोरयाए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्