हिमाली र पहाडी जिल्लामा आज होली पर्व हर्षोल्लासका मनाइँदै, तराईमा भने भोलि
  • प्रमुख खबर

Oplus_131072

फागुन १८, काठमाडौं ।।
फागुन शुक्ल पूर्णिमाको अवसरमा हिमाली एवं पहाडी जिल्लामा सोमबार(आज)होली पर्व हर्षोल्लासका साथ एकापसमा रङग दलि मनाइँदैछ ।

यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र खुसी साटासाट गर्ने सन्देश बोकेको यो पर्व प्राचीनकालदेखि निरन्तर मनाइँदै आएको सांस्कृतिक परम्परा हो।

यस्तै तराई क्षेत्रमा भने भोलि मात्र यो पर्व मनाउने प्रचलन छ। होली पर्वको मूल आधार त्रेतायुगको पौराणिक कथासँग सम्बन्धित छ।

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास रहिआएको छ ।

त्यस्तै द्वापरयुगमा कंशद्वारा पठाइएकी राक्षसनी पुतनाको वधपछि व्रजवासीले उत्सव मनाएको प्रसंग पनि फागुसँग जोडिएको धर्मग्रन्थमा उल्लेख छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. तोयराज नेपालका अनुसार यी पौराणिक प्रसंगहरूले फागु पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा विशेष महत्व प्रदान गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्