विकट र दुर्गम क्षेत्रसम्म हेलिकप्टर: निर्वाचन आयोगको विशेष तयारी
  • प्रमुख खबर

फागुन २०, काठमाडौं ।।
प्रतिनिधि सभा निर्वाचनका लागि भोलि देशभर मतदान हुँदैछ। यो दिन सम्पूर्ण नेपालीका लागि अत्यन्तै महत्त्वपूर्ण दिनको रूपमा रहेको छ। विषेशगरी भोलिको दिन लोकतन्त्रको वास्तविक परीक्षा हो।

मतदाताले मतदान केन्द्रमा पुगेर मतपत्रमा छाप लगाउँदा त्यो केवल एउटा चुनाव चिह्न रोज्ने प्रक्रिया मात्र नभई आगामी पाँच वर्षको लागि नीति, नेतृत्व र राष्ट्रिय दिशालाई निर्धारण गर्ने निर्णायक क्षण हो। त्यसैले भोलिको दिन अधिकार प्रयोग गर्ने अवसर मात्र नभई भविष्य निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी पनि हो।

यही संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतदान सम्पन्न भएपछि हुने सम्पूर्ण प्रक्रिया सुरक्षित र व्यवस्थित बनाउन विशेष तयारी गरेको छ।

विशेषगरी विकट तथा दुर्गम क्षेत्रका मतपेटिका ढुवानी र संकलनका लागि आयोगले छुट्टै कार्ययोजना लागू गरेको छ।

हिमाली भेगदेखि दुर्गम पहाडी बस्तीहरूसम्म मतपत्र, कर्मचारी र सुरक्षाकर्मी समयमै पुर्‍याउनेदेखि मतदानपछि मतपेटिका सुरक्षित रूपमा संकलन गर्ने कार्य बहु–सुरक्षा संयन्त्रसहित अघि बढाइने भएको छ।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार मतदान अगावै डोल्पाका २३ र हुम्लाका ४ गरी २७ मतदान केन्द्रमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याइसकिएको छ।

मतदान सम्पन्न भएपछि पनि हेलिकप्टर मार्फत नै मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याइने भएको छ। जसअन्तर्गत ताप्लेजुङदेखि दार्चुलासम्मका १५ जिल्लाका ६१ दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न पनि हेलिकप्टरकै प्रयोग गरिनेछ।
अन्य सुगम तथा सडक सञ्जालले जोडिएका क्षेत्रमा भने सवारी साधनमार्फत नै मतपेटिका ढुवानी गरिनेछ।

मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक बजेट पठाइसकेको छ।

जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यकताअनुसार नेपाली सेनासमेतको समन्वयमा मतपेटिका संकलन र ढुवानी गर्ने व्यवस्था मिलाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्