फागुन २१, पोखरा ।।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कास्की जिल्लामा बिहीबार(आज)शान्तिपूर्ण र व्यवस्थित वातावरणमा मतदान सम्पन्न भएको छ।
बिहानदेखि नै मतदाताको उत्साहजनक सहभागिताकाबीच जिल्लाभरका मतदान केन्द्रहरूमा मतदान प्रक्रिया सञ्चालन भएको थियो ।
सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गरिएकाले मतदानका क्रममा कुनै प्रकारको अप्रिय घटना नघटेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार जिल्लामा कुल १ लाख ८९ हजार २ सय ६७ मत खसेको छ । यो संख्या कुल मतदाताको ६१.३४ प्रतिशत हो। खसेको मतमध्ये महिला मतदाता १ लाख ३ सय ५, पुरुष मतदाता ८८ हजार ९ सय ५९ र अन्य ३ जना रहेका छन्। यसले जिल्लामा महिला मतदाताको सहभागिता उल्लेखनीय रहेको देखाएको छ।
यस्तै मतदान प्रक्रिया सम्पन्न भएसँगै जिल्लाभर रहेका १ सय ५५ मतदानस्थल (२ अस्थायी मतदानस्थलसहित) अन्तर्गतका ३ सय ६५ मतदान केन्द्रका मतपेटिका सुरक्षित रूपमा संकलन गरी मतगणना स्थलमा ल्याइसकिएको प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेशले जनाएको छ। अब निर्धारित समयअनुसार मतगणना प्रक्रिया सुरु गरिने तयारी भइरहेको छ।
प्रमुख मिडियालाई प्राप्त सूचना अनुसार कास्की क्षेत्र नम्बर १ को मतगणना आज राति ११ बजेबाट शुरु गरिने भएको छ भने क्षेत्र २ र ३ को पनि केहीबेरमा गरिने बताइएको छ ।












