फागुन २५, तनहुँ ।।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र रूपमा उम्मेदवार बनेका २७ जनामध्ये २२ जनाएको जमानत जफत भएको छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार तनहुँ–१ मा १६ मध्ये १४ जना र तनहुँ–२ मा ११ मध्ये ८ जना गरी २२ उम्मेदवारको जमानत जफत भएको हो।
क्षेत्र नं १ मा जमानत जफत हुनेहरुमा नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपाने, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का विद्यानाथ ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका(राप्रपा)का रामदत्त जोशी, नेपाल मजदुर किसान पार्टीकी रामलक्ष्मी दुवाल, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र नेपाल जनमुक्ति पार्टीका यामबहादुर आले रहेका छन् ।
निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएसँगै उनीहरूको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिएका छन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का स्वर्णिम वाग्लेले ३८ हजार ४० मतसहित विजयी हुँदा नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेले मात्र ५ हजार ८ सय ३० मत ल्याएकी थिइन् ।
कुल मतदाता १ लाख २६ हजार ८ सय ८२ रहेकोमा जम्मा ६८ हजार १ सय ४९ मत खसेको थियो । यस्तै खसेको मतमध्ये २ हजार ३९ मत बदर हुँदा जम्मा ६५ हजार ४ सय १९ मत मात्र सदर मत थियो ।
न्यौपानेले सदर मतको १० प्रतिशत मत नपुगेपछि जमानत जफत भएको हो। यता नेपाली कांग्रेसका गोविन्द भट्टराईले भने १६ हजार २ सय ३१ मत प्राप्त गर्दै आफ्नो
जमानत जोगाउन सफल भएका छन् ।
त्यस्तै क्षेत्र नं २ मा जमानत जफत भएका ८ उम्मेदवारहरूमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सोमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का यामबहादुर ठकुरी, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण अधिकारी, मंगोल नेसनल अर्गनाइजेसनकी सुस्मा आले, नेपाल जनमुक्ति पार्टीका पूर्णबहादुर राना, नेपाली कम्युनिस्ट पार्टीका गणेशबहादुर लामगादे र राष्ट्रिय जनमुक्ति पार्टीका लालबहादुर साकी (गोतामे) को जमानत जफत भएको हो ।
यस क्षेत्रमा रास्वपाका श्रीराम न्यौपानेले ३२ हजार ६ सय ८७ मत प्राप्त गर्दै हासिल गरेका थिए। यसैबीच यस क्षेत्रमा नेपाली कांग्रेसका शंकर भण्डारीले १४ हजार १ सय ३५ मत प्राप्त गर्दै जमानत जोगाउन सफल भए भने नेकपा एमालेका केदार सिग्देलले पनि ११ हजार ६ सय ६८ मत प्राप्त गर्दै पराजित भएपनि जमानत जोगाउन भने सफल भए।
कुल १ लाख २७ हजार ५ सय १५ मतदाता रहेको यस क्षेत्रमा ६६ हजार १ सय १ मत खसेको थियो। खसेको मतमध्ये ३ हजार ५ सय ३२ मत बदर भएको थियो भने ६२ हजार ५ सय ९ मत सदर मत थियो।









